ओलीलाई कुट्नै झम्टिएका थिए धनराज, रामहरि र प्रकाशशरणले जोगाए

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको असंसदीय व्यवहारका कारण आजको संसद बैठकमा झन्डै मुठभेडको स्थिति बन्यो।
सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको मागलाई बेवास्ता बेवास्ता गर्दै पेलेर अघि बढ्न खोजिरहेको सत्तापक्षलाई आजको सदनमा सभामुखको साथ रह्यो। कांग्रेस सांसदको नाराबाजीका बाबजुद पनि सभामुखले जबर्जस्ती संसद अघि बढाउन खोजे।
कांग्रेस सांसदहरू वेल घेरेर नाराबाजी गरिरहेका थिए, यत्तिकैमा सभामुखले राष्ट्रपति कार्यालयबाट आएको पत्र वाचन गरेर सुनाए। प्रतिपक्षलाई पेल्ने उनको क्रम यतिमै रोकिएन, उनले गृहमन्त्री लामिछानेलाई आफ्ना कुरा राख्न रोष्ट्रम बोलाए।
एकातर्फ प्रतिपक्षको नाराबाजी चलिरहेको थियो भने अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारामा सभामुख घिमिरेले संसद अघि बढाउन खोजिरहेका थिए। त्यसपछि कांग्रेस सांसदहरू पनि अझ उग्र भए र, ठेलमठेलको स्थिति बन्यो।
सभामुखले गृहमन्त्रीलाई रोष्ट्रम बोलाएपछि ओलीले सहजीकरण गरेका थिए। उनले बाटो पन्छाउँदै गृहमन्त्रीलाई रोष्ट्रम जान सहजीकरण गरे। त्यतिमात्र होइन, अग्रस्थानमा रहेका ओली जुरुक्क उठेर ‘गृहमन्त्रीलाई बाटो छोडिदिन’ भन्दै कांग्रेस सांसदलाई आग्रह गर्न थाले। तर, ओलीको आग्रहलाई ती सांसदहरूले सहज रूपमा नटेरेपछि ओली झन्किएको देख्न सकिन्छ।
त्यतिबेलासम्म पनि गृहमन्त्रीलाई बाटो नछाड्ने अडान लिँदै नाराबाजी गरि नै रहे। त्यसपछि ओली झन आक्रामक देखिए।
त्यहीबीच कांग्रेसका उपसभापति धनराज गुरुङ आए। धनराज ओलीलाई यति आक्रामक रुपमा झम्टिरहेका थिए कि उनको हाउभाउ हेर्दा उनी ओलीलाई कुट्ने चाहन्थे। केही समय धनराज र ओलीबीच भनाभनसमेत भयो। व्रद्व उमेरका ओलीलाई धनराजले एकोहोरो थर्काइरहे। ओलीले सकेको प्रतिरक्षा गरे।
उनीहरूबीच कुटाकुट्कै स्थिति सिर्जना हुन आँटेपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ओलीलाई बचाउन खोजे। आक्रामक रूपमा प्रस्तुत भएका बर्तौलाले ओलीलाई घेराउ हाले। त्यसपछि एमालेका ठाकुर गैरे लगायतका अरू सांसदहरू पनि अगाडि आएर ओलीको प्रतिरक्षा गरेर उनलाई घेरेर उभिए।
यतिबेलासम्म पनि सभामुखले संसद चलाइरहेकै थिए। ओली उभिए ठाउँमा एमाले र कांग्रेसका सांसदबीचको धकेलाधकेल झन् उग्र हुँदैथियो।
त्यही बेला कांग्रेसका प्रवक्ता प्रकाशशरण महत त्यहाँ पुगे। बिस्तारै ओली भएको ठाउँमा पुगेका महतले स्थिति सामान्य गराउन खोजे। उनको प्रयासपछि माहोल शान्त हुँदैगयो।
फेरि त्यसपछि कांग्रेस संसद रामहरि खतिवडा त्यो माहोलमा पसे। उनले धनराज लगायतलाई सम्हाल्दै अलि पर पुर्याए। यता एमाले अध्यक्ष ओलीलाई पनि उनका सांसदहरूले वर ल्याइसकेका थिए।
नभन्दै महत र खतिवडा त्यहाँ पुगेपछि ओलीमाथि कुट्ने तम्सिएका धनराज पनि शान्त भए। र, स्थिति सामान्य भयो। आजको लागि थप दुर्घटना टर्यो।
जेठ ३, २०८१ बिहीबार २०:३९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।