मेलम्ची खानेपानी बाह्रै महिना आपूर्ति गरिने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षदेखि मेलम्ची खानेपानीको बाह्रै महिना आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ।
सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मेलम्ची आयोजनाबाट काठमाडौँ उपत्यकाको चक्रपथ बाहिर र भक्तपुरको अरनिको राजमार्गमा समेत क्रमशः खाने पानी आपूर्ति गरिने सरकारको नीति रहेको बताए।
त्यसैगरी काठमाडौँ उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न सरकारले शिवपुरी राष्ट्रिय निकुञ्ज लगायतका जलाधार क्षेत्रबाट स्रोत संचालन गरेर पानी वितरण गर्ने नीति लिएको छ।
नदीनाला तथा पानीको स्रोतलाई प्रदूषण मुक्त बनाउन उपत्यका लगायतका ठूला सहरहरुमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण तथा संचालन गर्ने समेत सरकारले नीति बनाएको छ।
त्यस्तै, राष्ट्रपति पौडेलले तराइ मधेश क्षेत्रमा थोक वितरण प्रणाली मार्फत खानेपानी आपूर्ति गर्न विस्तृत अध्ययन गरिने र पहाडी क्षेत्रमा भने सुक्दै गएको पानीका स्रोत संरक्षण र पुन: स्थापनाको लागि स्थानीय र प्रदेश सरकारको सहकार्यमा कार्यक्रम संचालन गरिने पनि बताए।
विभिन्न क्षेत्रबाट वितरण भइरहेको खानेपानीको गुणस्तर परीक्षण र नियमन गरिने भन्दै एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी बनाइने समेत सरकारले नीति बनाएको छ।
जेठ १, २०८१ मंगलबार १६:५४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।