गृहमन्त्री लामिछानेले संसदमा बोल्न पाउनुपर्ने रास्वपाको मागमा के भन्छ कांग्रेस ?

काठमाडौं : सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रवि लामिछानेले संसद् बैठकमा बोल्न पाउनुपर्ने माग राखेको छ।
बैठकमा सहभागी भएका रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लामिछानेले संसद् बैठकमा सभामुखले बोल्न दिएकाले मंगलबारको बैठकमा बोल्न पाउनुपर्ने माग राखेका हुन्।
उनले भने, 'गृहमन्त्रीले बोल्न पाउनुपर्छ। धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन। कांग्रेसले पुनर्विचार गर्नुपर्छ।'
जवाफमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नीति कार्यक्रम प्रस्तुत हुन दिने तर धन्यवाद प्रस्ताव टेबल गर्न नदिने अडान राखेको छ।
छलफलमा सहभागी कांग्रेस सचेतक सुशीला थिङले बैठकमा भनिन्, 'संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहन्छ। छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ।'
बैठकमा सभामुख देवराज घिमिरेले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नहुने बताए।
जेठ १, २०८१ मंगलबार १४:५५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।