मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुल्यो

काठमाडौँ : सौन्दर्य प्रतियोगिता 'मिस यूनिभर्स नेपाल'को लागि आवेदन खुलेको छ। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यस प्रतियोगिताको लागि आवेदन खुलेको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जनाएको हो।
पत्रकार सम्मेलनमा बोल्दै मिस यूनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गिता पुरीले भनिन्, 'मिस यूनिभर्स नेपाल २०२४ को आवेदन खुला भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं। हामी सबै आ–आफ्नै तरिकाले पर्फेक्ट छौं र यस वर्ष हामी सबै क्षेत्रका महिलाहरूलाई समावेश गर्दै मिस यूनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध छौं।'
प्रतियोगिताको आवेदन जेठ १ गतेदेखि असार १ गतेसम्म खुल्ला रहनेछ।
इच्छुक महिलाहरूले खल्ती एप अथवा मिस यूनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाइन फारम भरेर आवेदन पेश गर्न सक्छन्। आवेदन खुला हुने अवधिभर सातै प्रदेशमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको हो।
उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाहरूले प्रतियोगितामा आवेदन दिन पाउनेछन्। उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुराहरूको प्रतिबन्ध नभएको मिस यूनिभर्समा नेपालीको साथै गैर आवासीय नेपाली महिलाहरूले पनि सहभागिता जनाउन पाउने बताइएको छ।
सहभागीहरूले अन्तिम प्रतियोगिताअघि विभिन्न प्रशिक्षणहरू प्राप्त गर्नेछन्। सर्वप्रथम असार १८ गते प्रतिस्पर्धाको उत्कृष्ट ६० प्रतिस्पर्धीहरू छानिनेछ र असार २७ गते मिनी गाला कार्यक्रमको आयोजना गरेर उत्कृष्ट ३० प्रतिस्पर्धीहरू छानिनेछ। त्यसैगरी साउन १६ गते शीर्ष २२ छानिनेछ भने उनीहरुको लागि भदौ ९ गते बन्द प्रशिक्षण शिविर सञ्चालन गरिनेछ।
प्रतियोगिताको फाइनल भने भदौ १५ गते हुनेछ।
प्रतियोगितामा उत्कृष्ट ६० सहभागीहरूले २ दिने प्रशिक्षण प्राप्त गर्ने छन् भने त्यहाँबाट छानिएका शीर्ष २२ प्रतिस्पर्धीहरूलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रशिक्षक एलेक्जेन्डर गोन्जालेजले १५ दिने प्रशिक्षण प्रदान गर्नेछन्।
मिस यूनिभर्स नेपाल २०२४ को विजेताले नोभेम्बर २०२४ मा मेक्सिकोमा आयोजना हुन लागेको ७३ औं मिस यूनिभर्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने जनाइएको छ।
वैशाख ३१, २०८१ सोमबार २०:५१:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।