जसपा नेपालको आरोप : प्रधानमन्त्री प्रचण्ड नै लागेर हाम्रो पार्टी फुटाए

जसपा नेपालको आरोप : प्रधानमन्त्री प्रचण्ड नै लागेर हाम्रो पार्टी फुटाए

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले आफ्नो पार्टी फुटाउन राज्य नै लागेको निष्कर्ष निकालेको छ। 

सोमबार केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउनका लागि लागेको पार्टीका सांसद राजकिशोर यादवले बताए। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले पार्टी विभाजनमा आफ्नो हात रहेको बताए। उनले सरकारले गैरजिम्मेवार काम गरेको र त्यसको विरुद्धमा आफूहरू लाग्ने चेतावनीसमेत दिए।

उनले सरकारले नै आफ्नो पार्टी फुटाएको आरोप लगाउँदै त्यही सरकारमा बसिरहन उचित नरहेकाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेकोसमेत बताए।

उनले भने, 'राज्य नै लागेर फुटाइयो। सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउनका लागि लाग्नुभयो र पार्टी विभाजनपश्चात राष्ट्रिय राजनीतिमा जुन घटनाहरू भइरहेका छन्, त्यहाँ नैतिक रुपले बसिरहन मिलेन। हामी १२ सिट लिएर सरकारमा सहभागी भएका थियौँ। एउटा निश्चित उद्देश्यका साथ सरकारमा सहभागी भएका थियौँ। तर दुर्भाग्यपूर्ण हाम्रो पार्टी विभाजन भयो। नैतिक रुपमा सरकारबाट राजीनामा गरेर समर्थन फिर्ता लिएका छौँ। यो विभाजनमा स्वयं प्रधानमन्त्रीज्यूले नै यसमा मेरो पनि हात छ भनेर स्वीकार गरिसकेपछि त्यहाँ बसिरहन उचित लागेन। सरकारले गैरजिम्मेवारी काम गर्यो त्यसको विरुद्धमा हामी लाग्नेछौँ।' 

वैशाख ३१, २०८१ सोमबार १७:५१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।