उपेन्द्र यादवलाई प्रधानमन्त्रीको सन्देश- ‘सरकार छाड्नुस्’

काठमाडौं : मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएसँगै केन्द्रीय सरकारको मन्त्रिपरिषद्मा समेत त्यसको असर परेको छ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न सन्देश पठाएको स्रोतलाई उद्धृत गर्दै नेपाल न्यूज बैंकले लेखेको छ।
उप-प्रधानमन्त्री यादव जनता समाजवादी पार्टीका अध्यक्ष हुन्। उनकै दलका नेता सरोज यादव मधेश प्रदेशका मुख्यमन्त्री छन्।
मधेशको सरकारबाट आफ्नो दलका तर्फबाट मन्त्री रहेका भरतकुमार साह र युवराज भट्टराईले आइतबार मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएलगत्तै उप-प्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन प्रधानमन्त्रीले सन्देश दिएको समाचारमा उल्लेख छ।
माओवादीले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाएर आजै सरकारबाट समर्थन फिर्ता लिने भएको जानकारी प्राप्त भएको छ। एमालेका तर्फबाट मन्त्री रहेका नेताले पनि राजीनामा दिने तयारी गरिरहेको बुझिएको छ।
वैशाख ३०, २०८१ आइतबार १८:४२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।