ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता जेठ ३ गते

काठमाडौं : यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डरवुमन) महिलाहरूको प्रतिभा प्रस्फुटन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना हुँदै आएको ‘मिस पिंक २०२४’ को फाइनल राउन्ड आउँदो जेठ ३ गते काठमाडौंमा हुने भएको छ।
नील हिरा समाजले सन् २०१८ पछि २०२४ का लागि मिस पिंक आयोजना गर्न लागेको हो। लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर प्रतियोगिताको फाइनल राउन्ड गर्न लागिएको समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन्।
समुदायको मुद्दा वकालत गर्न र क्षमता अभिवृद्धि गर्दै समाजमा सकारात्मक प्रभाव बढाएर समुदायमा रहेका व्यक्तिहरूलाई सामाजिक रुपमा स्थापित गरी विभेदरहित कानुन र सकारात्मक समाजको वातावरण निर्माण गर्न दबाब स्वरुप 'मिस पिंक' गर्न लागिएको अध्यक्ष गुरुङले बताइन्।
कार्यक्रम काठमाडौंको नाचघरमा हुने र फाइनल राउन्डसँगै समुदायका व्यक्तिहरूको आकर्षक नृत्य, गायन तथा अन्य प्रतिभाहरू प्रस्तुत गर्ने तालिका छ।
१९ जना प्रतियोगीले मञ्चमा आफ्नो प्रस्तुति देखाउने छन्। प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, दोस्रोलाई ७५ हजार राशीसहित प्रमाणपत्र दिइने छ। आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई थाइल्याण्डको बैककमा हुने ट्रान्सजेन्डर सौन्दर्य प्रतियोगिता सहभागी गराइने छ।
कार्यक्रममा सहभागिताका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
वैशाख २९, २०८१ शनिबार १८:२२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।