'इन्टरनेट सेवा अवरुद्ध नगर्नू, नभए हदैसम्मको कारबाही हुन्छ'

'इन्टरनेट सेवा अवरुद्ध नगर्नू, नभए हदैसम्मको कारबाही हुन्छ'

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायक (आइएसपी)लाई कारबाही गर्ने चेतावनी दिएको छ।

बिहीबार केही प्रमुख इन्टरनेट सेवा प्रदायकको इन्टरनेट करिब ६ घण्टा अवरुद्ध भएको थियो। ती आइएसपीहरुलाई चेतावनी दिँदै प्राधिकरणले इन्टरनेट जस्तो अत्यावश्यकीय सेवा अवरुद्ध पार्नेलाई हैदसम्मको कारबाही गर्ने चेतावनी दिएको हो।

प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको समेत प्राधिकरणले जनाएको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इन्टरनेट सेवा अत्यावश्यक सेवा समेत भएको हुँदा दूरसञ्चार ऐन, २०५३ तथा अनुमतिपत्रको सर्त बमोजिम भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी आम उपभोक्तालाई निर्वाध रुपमा सेवा उपलब्ध गराउन सम्बन्धित सेवा प्रदायकहरुलाई निर्देशन दिइएको छ। अन्यथा दूरसञ्चार ऐन, २०५३ लगायत प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गरिने ब्यहोरा सम्बन्धित सेवा प्रदायकहरुलाई जानकारी गराइन्छ।’

प्राधिकरणले अधिकांश सेवा प्रयादयकहरुले आम्दानीको चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष रकम बुझाउनुपर्ने कर बुझाए पनि केहीले त्यसलाई तिर्नु नपर्ने भन्दै अनावश्यक भ्रम सिर्जना गरेर सेवा नै रोक्ने हर्कत गरेको बताएको छ। ती शीर्षकका कर आइएसपीरुहले अनिवार्य रुपमा बुझाउनुपर्ने धारणा प्राधिकरणले व्यक्त गरेको छ।

कर नबुझाउने सेवा प्रदायकलाई विदेशी मुद्रा सटहीको अनुमति दिन नसकिने कानुनी व्यवस्था स्मरण गराउँदै प्राधिकरणले त्यही बहनामा सेवा नै रोक्ने कार्यलाई स्वभाविक मान्न नसकिने जनाएको छ।

वैशाख २१, २०८१ शुक्रबार २०:५४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।