‘नेपाल सरकार मुर्दावाद’ भन्दै सिजी फुड पार्कमा आक्रमण, व्यवस्थापकमाथि अभद्र ब्यबहार

काठमाडौं : ललितपुर भैंसेपाटीस्थित चौधरी ग्रुप (सीजी) ले सञ्चालन गरेको सीजी फुड पार्कमा आक्रमण भएको छ।
शुक्रबार अपराह्न ३ बजे बा ४ ख १०८५ नम्बरको बसमा आएको अज्ञात समूहका अधिकांश महिला र केही पुरुषले पार्कमा कार्यरत कर्मचारीमाथि हातपात तथा भौतिक सम्पत्ति तोडफोड गरेको सीजीले जनाएको छ।
कम्पनीका प्रवक्ता मधुसूदन पौड्यालका अनुसार उनीहरूले पार्कभित्र छिरेर ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै सीजीका व्यवस्थापकमाथि अभद्र र असभ्य व्यवहारसमेत गरेका थिए।
पौड्यालद्वारा जारी विज्ञप्तिमा महिला कर्मचारीहरू प्रतिकारमा उत्रिएपछि आक्रमणकारी पछि हटेको उल्लेख छ।
घटनापछि उक्त समूहका १७ महिला र पाँच पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। उनीहरूको पहिचान खुलिनसकेको र अनुसन्धान जारी रहेको एसपी सुवेदीको भनाइ छ।
सीजीले उद्योगमाथि दिन–दहाडै भएको आक्रमण निन्दनीय भएको भन्दै घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसमक्ष अनुरोध गरेको छ।
वैशाख २१, २०८१ शुक्रबार १९:४२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।