सिधा कुराको समाचारबारे सर्वोच्चले भन्यो- २४ घण्टाभित्र हटाउनू, थप सामग्री प्रसारण नगर्नू

सिधा कुराको समाचारबारे सर्वोच्चले भन्यो- २४ घण्टाभित्र हटाउनू, थप सामग्री प्रसारण नगर्नू

काठमाडौं : सर्वोच्च अदालतले सिधा कुरा डटकममा प्रसारित सामग्री न्यायालयप्रति भ्रम र अनास्था फैलाउने उद्देश्यबाट सार्वजनिक गरिएको भन्दै उक्त सामाग्री हटाउन आदेश दिएको छ। 

सिधा कुराले ‘द डार्क फाइल’ नामको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’ रोक्न सर्वोच्चका वरिष्ठतम न्यायाधीशसहित मिडिया मालिक र वरिष्ठ अधिवक्ताहरूले ‘सेटिङ’ गरेर फैसला गरेको भन्दै शृंखला प्रस्तुत गरेको थियो।

फैसलामा संलग्न नभएका न्यायाधीश र बहस नगरेका वरिष्ठ अधिवक्तासहित अरू व्यक्तिबाट अदालत प्रभावित भएको भन्ने सामग्री न्यायालयको गरिमामा आँच पुर्याउने र न्यायसम्पादनसम्बन्धी कार्यमा अवरोध खडा गर्ने दुराशय र नियोजित तरिकाले उत्पादन र प्रसारण गरिएको सर्वोच्चको ठहर छ।

न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यस्तो कारण दिँदै प्रसारित सो सामग्री २४ घण्टाभित्र हटाउन आदेश जारी गरेको छ। अनलाइनका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना लगायतलाई थप सामग्री प्रसारण नगर्न पनि सिधा कुरा टिमका नाममा आदेश जारी गरेको छ।

सर्वोच्चले अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो, प्रसारित सामग्रीको आधिकारिकतासहित बयानका निम्ति यही वैशाख २० गते उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेको छ।

सिधा कुराले फैसलामा संलग्न नै नभएका वर्तमान वरिष्ठतम न्यायाधीश डा. आनन्दमोहन भट्टराईको नाम मुछेपछि सर्वोच्चले आफैँ सरोकारमा लिएर (सुमोटो) अदालतको अवहेलनासम्बन्धी कारबाही चलाएको थियो। 

सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले आइतबार दायर गरेको निवेदनमा सोमबार सर्वोच्चको संयुक्त इजलासले यस्तो आदेश गरेको हो।

वैशाख १७, २०८१ सोमबार २१:५७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।