५३ महिनाअघि ओलीले शिलान्यास गरेको सुरुङमार्ग प्रचण्डले गरे ‘ब्रेकथ्रु’, तर संचालन हुन एकवर्ष लाग्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नागढुंगा–सिस्ने खोला सुरुङमार्ग छिचोलिएको छ। निर्माण सुरू भएको ५३ महिनापछि प्रधानमन्त्री दाहालसहितको उपस्थितिमा सोमबार ‘ब्रेकथ्रु’ गरिएको हो।
यो नेपालको पहिलो यातायात सुरुङ मार्ग हो।
सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ। चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरुङमार्ग आयोजनाको मुख्य मार्गको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ।
सोमबार दुई मिटर खनेपछि सुरुङ वारपार छिचोलिएको हो।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि भएको बताए।
उनले भने, ‘सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरुङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ।’
०७६ कात्तिक ४ मा काठमाडौंतर्फको टुटीपाखामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको शिलान्यास गरेका थिए। त्यसबेला आयोजना सक्न ४२ महिना लाग्ने भनिए पनि ५३ महिनापछि मात्र ‘ब्रेकथ्रु’ गरिएको हो।
२२ अर्ब रुपैयाँमा ठेक्का लागेको आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ। यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ।
सुरुङभित्र अब लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम बाँकी छ। बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्रे हुनेक्रम जारी छ।
सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ।
वैशाख ३, २०८१ सोमबार १६:२०:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।