‘लभर ब्वाई’को छविलाई एक्सनमा उतार्ने चेष्टा

काठमाडौं : अभिनेता पल शाह यतिबेला नयाँ फिल्म ‘रावायण’का लागि धमाधम एक्सन सिकिरहेका छन्।
निर्देशक सुदर्शन थापाको निर्देशन रहने फिल्मका लागि पल एक सातायता एक्सन निर्देशक श्री श्रेष्ठसँग एक्सन सिक्वेन्स सिकिरहेका छन्।
पलले आफ्नो ‘लभर ब्वाई’को छविलाई फेर्न एक्सन सिकिरहेको बताए।
‘मलाई अहिलेसम्म दर्शकले प्रेमकथामा फिल्ममा धेरै देख्नुभयो। अब म त्यो छवि फेर्न चाहन्छु’, उनले भने।
पल फिल्म ‘पुजार सार्की’मा ‘लभर ब्वाई’ भन्दा फरक चरित्रमा देखिँदैछन्। तर यसमा उनको भूमिका पूर्ण एक्सनमूलक नरहेको निर्माण युनिटले जनाएको छ।
२०८१ भाद्र २१ गते तीजलाई रिलिज मिति तोकेको फिल्म ‘रावायण’ वैशाखबाट छायांकनमा जाँदैछ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्ममा सुदर्शन थापा र पूजा शर्माको संयुक्त लगानी छ।
फिल्ममा पलसँगै पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतका कलाकारहरुको अभिनय रहने छ।
फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, रामजी लामिछाने, बिक्रम स्वारको कोरियोग्राफी रहने छ।
चैत ३०, २०८० शुक्रबार १४:३०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।