बेलायत पठाउने भन्दै ६ करोड ठगी, अजरबैजान पठाएर अलपत्र
 
                    
                    
                    
                    काठमाडौँ : बेलायत पठाइदिने प्रलोभनमा पारेर ३५ जनाबाट ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा झापा कमल गाउँपालिकाका केदार चौधरी पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मनोहराबाट पक्राउ गरेको हो। चौधरीविरुद्ध सुमन राईसहितका ३५ जना व्यक्तिले जाहेरी दिएका थिए। उनीहरूबाट ९ देखि २० लाख रुपैयाँसम्म लिएर ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा जाहेरी परेको आधारमा उनी पक्राउ परेका हुन्।
उनले आईआरआईएस एक्सपर्ट कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीमा पठाउने भन्दै ३५ जनाबाट ६ करोड रुपैयाँ उठाएर ठगी गरेको उनलाई आरोप लागेको थियो।
उनले बेलायत पठाउने भनेर केही व्यक्तिलाई अजरबैजानसम्म पुर्याएर अलपत्र पारेको थप आरोप समेत छ। प्रहरीले उनलाई थप अनुसन्धानका लागि विभागमा बुझाएको छ।
चैत २१, २०८० बुधबार १७:३७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    