स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै निर्देशक मेहतादेखि आपूर्तिकर्ता विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै निर्देशक मेहतादेखि आपूर्तिकर्ता विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : कोशी अस्पतालका लागि किनिएको हाई डिपेन्डेन्सी युनिटको खरिदमा मेडिकल सामान आपूर्तिकर्तासँग मिलेर २ करोड ८९ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहता, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका वायोमेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय, धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, स्वास्थ्य निर्देशनालय, धनकुटाका खोप अधिकृत उदेश कुमार श्रेष्ठ र सामान आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेज प्रमुख विशाल पण्डित र मनोजकुमार आचार्यलाई प्रतिवादी बनाएको हो।

सामाग्री खरिदको लागि स्वास्थ्य निर्देशनालय, धनकुटाले आव्हान गरेको बोलपत्रमा न्यून कबोल गर्नेलाई छनौट नगरी अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा एचडियूको उपकरण खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (४ख) बमोजिम पेस भएका कुनै पनि बोलपत्रहरू सारभूत रूपमा प्रभावग्राही नभएको अवस्थामा पुनः बोलपत्र प्रक्रिया थालनी गर्नुपर्नेमा नगरी स्वास्थ्य सेवा निर्देशनालय, धनकुटाले बोलपत्रसाथ संलग्न गरेको मापदण्ड पूरा गरेको नदेखिएको अवस्थामा पनि खरिद सम्झौता गरेर भ्रष्टाचार गरेको अभियोग पत्रमा दाबी गरेको छ।

अभियोग पत्रमा प्राविधिक दृष्टिकोणबाट प्रक्रिया पुरा नभएको बोलपत्रलाई प्रक्रिया पुरा भएको भनी मूल्याङ्कन समितिबाट गलत लिखत तयार गरी/गराई गलत लिखत प्रतिवेदनको आधारमा बोलपत्र मूल्याङ्कन समितिको बैठकले सार्वजनिक खरिद नियमावली, २०६३ को नियम ६२(२) बमोजिमको बोलपत्रमा रहेको भिन्नता खुलाउनु पर्ने अनिवार्य व्यवस्थाको प्रतिकूल सबैभन्दा बढी रकम कबोल गर्ने हस्पिटेक इन्टरप्राइज प्रालीद्वारा पेस भएको बोलपत्र स्वीकृत गर्ने निर्णय गरेर भ्रष्टाचार गरेको उल्लेख छ।

अख्तियारका अनुसार खरिद प्रक्रियामा पेस हुन आएका ३ वटा बोलपत्रदाताहरूले अनिवार्य रूपमा पेस गर्नुपर्ने कागजातहरू पेस नगरेका कारण ३ वटै बोलपत्रहरू सारभूत रूपमा प्रभावग्राही नभएको अवस्थामा पुनः बोलपत्र प्रक्रिया थालनी गर्नुपर्नेमा सो नगरी कोभिड महामारीको विशेष परिस्थिति देखाई अत्यावश्यक स्वास्थ्य पूर्वाधार एचडियूको उपकरण खरिद गर्नुपर्ने बाध्यता रहेको अवस्था मान्दासमेत सबै भन्दा कम रकम कबोल गर्ने बोलपत्रदातालाई छनौट गर्नुपर्नेमा गैर कानुनी लाभ लिने बदनियतले सबैभन्दा बढी रकम कबोल गर्ने बोलपत्रदातालाई छनौट गरेको दाबी गरिएको छ।

तेस्रो हुने र पहिलो हुने फर्महरूद्वारा कबोल गरिएको रकमको अन्तर दुई करोड ८९ लाख बराबर अस्वाभाविक रूपमा बढी मूल्य तिरी खरिद गर्ने/गराउने कार्य गरे/गराएको पुष्टि भएको भन्दै उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम भ्रष्टाचारजन्य कसुरमा संलग्न रहेको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ।

हस्पिटेक प्राली स्वास्थ्य उपकरण विक्रीमा सिन्डिकेट चलाउन कहलिएको आपूर्तिकर्ता हो। मधेस प्रदेशमा हालै भएका टेन्डरहरू समेत हस्पिटेकसँग मिलेमतो भएको भन्दै विवादित भइरहेका छन्।

को-कोमाथि के अभियोग !

मेहताले समितिबाट गलत लिखत तयार गराएर प्रतिवेदन दिएको दाबी सहित बिगो र बिगो अनुसारको सजायको माग दाबी गरिएको छ।

खरिद मूल्याङ्कन समितिका सदस्य तथा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका वायोमेडिकल इन्जिनियर कुशल दाहालविरुद्ध पनि २ करोड ८९ लाख बिगो बमोजिम जरिवाना र कैदको माग गरिएको छ।

अख्तियारले उनीमाथि मूल्याङ्कन समितिबाट गलत लिखत तयार गरी/गराई प्रतिवेदन दिएको उल्लेख छ। खरिद मूल्याङ्कन समितिका सदस्य  स्वास्थ्य निर्देशनालय, धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मामाथि   मूल्याङ्कन समितिबाट गलत लिखत तयार गरी/गराई प्रतिवेदन दिएको उल्लेख छ।

अर्का उपकरण खरिद मूल्याङ्कन समितिका सदस्य  स्वास्थ्य निर्देशनालय, धनकुटाका खोप अधिकृत उदेश कुमार श्रेष्ठमाथि   मूल्याङ्कन समितिबाट गलत लिखत तयार गरी/गराई प्रतिवेदन अख्तियारको आरोप छ।

सामान आपूर्तिकर्ता कम्पनी हस्पिटेकका प्रमुख विशाल पण्डितमाथि पनि दुई करोड ८९ लाख बिगो कायम गरेर बिगो अनुसार जरिवाना र सजायको माग गरिएको छ।

उनीमाथि अख्तियारले मतियारको भूमिका निर्वाह गरेको उल्लेख छ। हस्पिटेकका बजार व्यवस्थापक मनोज कुमार आचार्यमाथि पनि मतियारको आरोप लगाइएको छ।

विशाल पण्डित सम्बन्धी समाचार

चैत १८, २०८० आइतबार १५:३६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।