धेरैपछि माधव नेपालको नाम नलिएरै ओलीले भने- 'कुहिएका आलुहरू बोराबाट निकालेर बाहिर फालिए'

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना विरोधीहरूलाई आलोचना गर्न खप्पिस मानिन्छन्। कहिलेकाही त तुच्छ भन्दा तुच्छ शब्दकै प्रयोग गरेर पनि उनी आफ्ना विरोधीलाई गाली गरिरहन्छन्।
अध्यक्ष ओलीले तीन वर्षअघि तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजित गरेसँगै अध्यक्ष ओलीले उनको थुप्रैपटक आलोचना गरे।
सार्वजनिक समारोहबाट 'एकछिनपछि म माधव नेपालको नाम लिएर मुख कुल्ला गर्छु, देशका नालायक' सम्म भन्न भ्याए। त्यसमाथि पनि गत स्थानीयतह निर्वाचन र प्रदेश तथा संघीय निर्वाचनमा अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालको कयौंपटक आलोचना गरे होलान्, कमैलाई हेक्का छ।
अध्यक्ष ओलीले नेपाललाई आफ्नो पार्टीको सरकार भत्काएर कांग्रेस-माओवादीको सरकार बनाउन लागि परेको 'गद्दार' भन्ने गरेका थिए।
तर, अहिले परिस्थितिवश ओली र नेपाल एउटै गठबन्धनमा रहेर सत्ताको साझेदारी गरिरहेका छन्।
यसबीचमा कांग्रेस-माओवादी गठबन्धन भत्किएपछि बनेको एमाले-माओवादी गठबन्धनलाई एकीकृत समाजवादीलाई सामेल गर्न ओलीले पनि ठूलै कसरत गरे। माधव नेपालनिवास कोटेश्वर नै धाएर भएपनि एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा ल्याइछाडे।
त्यसपछि भने माधव नेपालको आलोचनामा कम खर्चिएका अध्यक्ष ओलीले आज एक कार्यक्रमका बीच नाम नलिएरै सांकेतिक आलोचना गरे।
‘हाम्रो पार्टीमा केही कमजोरी रहनु बेग्लै कुरा होला, केही मान्छेहरू सडेर गलेर जानु बेग्लै कुरा होला। एउटा राम्रो काम के भएको थियो भने कुहिएका आलुहरू बोराबाट निकालेर बाहिर फालिएका थिए,’ उनले भने।
एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा बझाङ प्रदेश सभा–१ को उपनिर्वाचन विशेष भेलालाई सम्बोधन गर्दै उनले गत निर्वाचनमा सबै दल एकातिर र केही नेताले पार्टी फुटाएकै कारण केही ठाउँमा कमजोर नतिजा आएको उल्लेख गरे।
उनले भने, ‘गत निर्वाचनमा सबै पार्टी एकातिर र एमाले एकातिर, त्यस्तो अवस्थाको सामना गर्नुपर्दा पराजयको पीडा व्यहोर्नुपरेको थियो। तर यसपटक हामी सुखद परिणाम गर्न चाहन्छौं। यसपल्ट हामी हार्दैनौ, हार्न मिल्दैन। गत वर्षको निर्वाचनमा एमालेकै हस्ती भनिएका नेताहरु पार्टी फुटाएर गएका थिए। एमाले त शून्य सिटमा झर्छ समेत भनेका थिए।’
पार्टीविरुद्धको चर्को गठबन्धनका बाबजुद एमाले लोकप्रिय पार्टी हुँदै आफ्नो साख कायम राखेको अध्यक्ष ओलीको भनाइ थियो।
चैत १७, २०८० शनिबार १७:५०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।