कसरी आगोमा परेको नौनीजसरी पग्लिइन् पूजा?

काठमाडौं : नेपाली उखान छ नि ‘बोल्दा प्वाक्क नबोल्नु, बस्दा थ्याच्च नबस्नु।’
यो उखान अभिनेत्री पूजा शर्मासँग ठ्याक्कै मिल्छ। उनी आफ्नै बोलीमा अडिग हुँदिनन्। कहिलेकाँही आवेशमा बोलेको कुराले उनी आफैँ अप्ठ्यारोमा परिरहन्छिन्।
एक महिना अघिसम्म पल शाहसँग उनको पानी बाराबारको अवस्था थियो। पल र उनको सम्बन्ध टुक्रिएको विषय अनलाइन पोर्टलका ठूल्ठूला हेडलाइन बने। उनी आफैँले पनि अन्तरवार्तामा कतिपय कुरा नमिल्दा यस्तो अवस्था आएको बताएकी थिइन्।
अन्तर्वार्तामा उनले पललाई अब कहिल्यै आफ्नो फिल्ममा नखेलाउने मात्र भनिनन्, उनको जोडी भएर समेत काम नगर्ने भनेर कसमै खाइन्, त्यो पनि शाहबाट पीडित बनेकीको टाउकोमा हात राखेर। उनी यतिमा मात्र कहाँ रोकिइन् र, शाहसँग फिल्म खेल्नुपरे फिल्म क्षेत्र नै छोड्नेसमेत घोषणा गरिन्।
तर, एक साताअघि तिनै पल शाहलाई उनले आफ्नो फिल्म ‘रावायण’ मा अनुबन्ध गरिन्। सुदर्शन थापाको निर्देशनमा बन्ने यो फिल्ममा आफैँ लगानीकर्ता बनेर पूजाले पललाई अनुबन्ध गरेकी हुन्।
यसबीचमा के भयो कुन्नी, पूजा आगोमा परेको नौनीजसरी पग्लिइन्। खैर, जे भएपनि पूजाले त्यसरी पीडितको टाउकोमै हात राखेर कसम चैँ खान हुँदैनथ्यो। कसमै खाइसकेपछि पूरा गरेको भए भैहाल्थ्यो। कि जिस्केर कसम खाएको हो, त्यो पनि स्पष्ट पारेकी छैनन् उनले।
नेपाली फिल्म क्षेत्रमा पूजालाई सिनियर नायिका भन्न थालिसके। तर, उनको बच्पना भने हटेको छैन। व्यवसायी र निर्मातासमेत भइसकेकी पूजाले अलिकति भए पनि जिम्मेवार बन्दा आफैँलाई राम्रो हुन्थ्यो। हामीले त भन्ने मात्र हो, बाँकी पूजाले नै विचार गरुन्।
चैत १७, २०८० शनिबार ०९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।