बेइजिङ फिल्म फेस्टिभलमा नवीन सुब्बाको ‘गाउँ आएको बाटो’

बेइजिङ फिल्म फेस्टिभलमा नवीन सुब्बाको ‘गाउँ आएको बाटो’

काठमाडौ : फिल्म ‘गाउँ आएको बाटो’ चीनको १२औं ‘बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल’मा छानिएको छ।

शुक्रबार निर्माण टिमले फिल्म फेस्टिभलमा छानिएको जानकारी दिएको हो। यसअघि यो फिल्मलाई ‘टोरोन्टो इन्टरनेश्नल फिल्म फेस्टिभल’ मार्फतबाट वर्ल्ड प्रिमियर गरिएको थियो।

नवीन सुब्बाले निर्देशित फिल्म स्वीडेनमा भएको ४७औं ‘गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव–२०२४’ पनि छनोट भएको थियो भने ‘वुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा र मुम्बईको मामीमा साउथ एशियन प्रिमियर भइसकेको छ।

निर्देशक सुब्बाले राई समुदायको सामाजिक पृष्ठभूमिमा गाउँमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा र त्यसबाट आउने उतारचढावको कथालाई फिल्ममार्फत प्रस्तुत गरेका छन्।

आगामी जेठ १८ गते नेपालमा रिलिज मिति तोकिएको यो फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बालगायतका कलाकारको अभिनय छ।

छोमोलोङमा प्रोडक्सन र गाउँघर फिल्म प्रोडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई नेपालमा बाँसुरी फिल्म्सले रिलिजको संयोजन गरेको छ। 

चैत १७, २०८० शनिबार ०८:३४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।