गृहमन्त्री रविको पहिलो प्रहरी बढुवा नै विवादमा, बाह्रौं नम्बरका बढुवा हुँदा पहिलो र छैटौं नम्बरका छुटे
 
                    
                    
                    
                    काठमाडौं : रवि लामिछाने गृहमन्त्री भएपछि नेपाल प्रहरीमा निस्किएको पहिलो बढुवा विवादमा परेको छ। बढुवा सिफारिस समितिले बुधबार बेलुका जनपद समूहमा रिक्त आठ एसपीका लागि डीएसपीहरूको नाम सिफारिस गरेको थियो।
पद रिक्त भएको लामो समय भए पनि रोकिएको थियो। रोकिनुको कारण थियो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यक्तिगत सुरक्षामा खटिएका विनोद घिमिरेलाई समेत अटाउनुपर्ने बाध्यता। रिक्त संख्या आठ हुँदा घिमिरे १२औं नम्बरमा थिए।
बढुवा सिफारिस भएका राजन लिम्बु र नवौं नम्बरमा रहेका सन्तोष तामाङलाई छुटाउन गाह्रो थियो। उनीहरू दुवै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओ र पूवपीएसओ हुन्।
अन्तमा बुधबार यी दुवैलाई समेटेर बढुवा सिफारिस सूची सार्वजनिक हुँदा बढुवाका लागि पहिलो नम्बरमा रहेका प्रदीपबहादुर क्षेत्री र छैटौं नम्बरमा रहेका नारायण रन्जितकारलाई छुटाएर नवौं स्थानका तामाङ र बाह्रौं नम्बरका घिमिरे अगाडि तानिए।
डीएसपीको बढुवाको कानुनी अधिकार प्रहरी महानिरीक्षकमा हुन्छ। तर, गृहमन्त्रीकै परामर्शमा सूची निस्कन्छ। डीएसपी बढुवा सिफारिस सूची निकाल्दा महानिरीक्षक कुँवरले गृहमन्त्री रविसँगको परामर्शमै निकालेको सचिवालय स्रोतले बतायो।
परामर्शमा निस्किएको बढुवा सिफारिस सूचीमा तामाङ र घिमिरेबाहेक ढकेन्द्र खतिवडा, अङ्गुर जिसी, यादव ढकाल, श्याम बाबु ओलिया र निरञ्जन दत्त भट्ट छन्।
बुधबार बेलुका निस्किएको सिफारिसमा परेकाहरू २०७२ साउन १ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएकाहरू हुन्। यो ब्याचका अन्य डीएसपीहरू यस अगाडिको दुई चरणमा बढुवा भइसकेका छन्।
एकै ब्याचमा रहेका डिएसपीको यो तेस्रो लट हो। यस अगाडिको बढुवामा अंगुर जिसी छुटेका थिए। यसपटक उनी दोस्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन्।
चैत १५, २०८० बिहीबार १३:०८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    