घरायसी विवादमा छोराले बन्चरो प्रहार गर्दा बुबाको ज्यान गयो, छिमेकी समेत घाइते

घरायसी विवादमा छोराले बन्चरो प्रहार गर्दा बुबाको ज्यान गयो, छिमेकी समेत घाइते

काठमाडौं : सप्तरीमा प्रहरीले बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-३ का २२ वर्षीय लालदेब सदा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बुधबार बिहान करिब ८ बजेको समयमा सप्तकोशी ३ स्थित सखबनि नयाँ बस्ती बस्ने ४५ वर्षीय हिराई सदालाई उनका छोरा लालदेबले घरेलु हतियार बन्चरोले घाँटीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार लालदेबले घरायसी विवादमा बुबालाई बन्चरोले प्रहार गरेका थिए।

सोही बेला लालदेबले छिमेकी ६५ वर्षीय दशन सदालाई समेत बन्चरोले प्रहार गरेका थिए। छिमेकी सदाको टाउको र हातमा चोट लागेको छ।

उनको स्थानीय फत्तेपुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटना पश्चात लालदेबलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

चैत ७, २०८० बुधबार १९:१६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।