एआइजीमाथि कारबाही गर्नुपर्ने देखिएपछि प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद्को बैठक

काठमाडौँ : सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमाथि छलफल र आवश्यक निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआइजी किरण बज्राचार्यको बदनियत देखिएको प्रतिवेदनमा उल्लेख भएपछि उनको सरुवाको निर्णयसहित छलफलका लागि प्रधानमन्त्रीले शुक्रवार साँझ ५ बजे बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले जानकारी दिए।
एआइजीको सरुवाका लागि मन्त्रीपरिषद्को निर्णय चाहिन्छ। बिहीबार सरकारले गठन गरेको सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा जीवन चलाउनेको हकमा भएको अनुसन्धानमा ब्युरोका अधिकारीहरूको बदनियत रहेको उल्लेख छ।
पूर्व प्रहरी महानिरीक्षक शर्वेन्द्र खनालसँग निकट देखिएका चलाउने र दावा लामाबीच सम्बन्ध खुलेपछि ब्युरोले अनुसन्धानका लागि उनलाई कार्यालयमा उपस्थित गराएर बयान लिएर मुक्त गरेर पछि प्रतिवादी बनाउन सिफारिस गरेको थियो।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले एआइजी बज्राचार्यसँगै ब्युरोका एसपी सञ्जयसिंह थापा, डिएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई समेत विभागीय कारबाहीको सिफारिस गरेको छ।
आयोगको प्रतिवेदनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, विध ल्याबका भिमकान्त भण्डारी, सुबु केसी, उपमहान्यायधीवक्ता जनकराज घिमिरे र वासुदेव शर्मा, त्रिभुवन भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेल, भन्सार अधिकृत मुक्ति श्रेष्ठ, सह-सचिव झलकराम अधिकारी लगायतलाई कारबाहीको सिफारिस गरेको छ।
चैत २, २०८० शुक्रबार १४:०३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।