लण्डनमा नेपाली फिल्म फेस्टिभल हुँदै, १० नेपाली फिल्म प्रदर्शन गरिने

लण्डनमा नेपाली फिल्म फेस्टिभल हुँदै, १० नेपाली फिल्म प्रदर्शन गरिने

काठमाडौं : बेलायतको लण्डनमा आगामी जुनमा दोस्रो ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’ हुने भएको छ।

आगामी जेठ २७ गतेदेखि असार १ गतेसम्म महोत्सव हुने बताइएको छ।

महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन हुने आयोजक थर्ड आईका अध्यक्ष विकास देवकोटाले बताए। उनका अनुसार हाम्रो नेपालीको परिवेश र नेपाललाई चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

उनले पत्रकारसँगको कुराकानीमा नेपाली फिल्मको बजार विस्तारका लागि आफूहरूले कार्यक्रमको आयोजना गर्न लागेको बताए।

‘बेलायतमा नेपाली फिल्म फेस्टिभलको आयोजनाले नेपाली कला र संस्कृतिको प्रवर्द्धन हुनेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म देखाउने छौं। यसले नेपाली फिल्मको बजार विस्तारमा टेवा पुर्याउनेछ। साथमा, नेपाली कला संस्कृतिलाई पनि प्रवर्द्धन गर्नेछ।’

देवकोटाले महोत्सवमा ४० जना हाराहारीमा फिल्मीकर्मी, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरू महोत्सवमा सहभागी हुने जानकारी दिए।

आयोजकका अनुसार महोत्सवमा ५० वटा फिल्मको आवेदन पर्ने अनुमान गरिएको छ। जसबाट १० वटा फिल्म मनोनयन गर्ने र पाँचलाई सम्मान गर्ने तयारी गरिने समेत अध्यक्ष देवकोटाले बताए।

फिल्मकर्मीहरूले यस महोत्सवमा भाग लिन चाहेको खण्डमा थर्ड आईको फेसबुक पेजमा गएर आवेदन दिन सक्नेछन्। सोहीबाट फिल्मको महोत्सवमा सहभागी जनाउन सक्नेछन्।

फागुन २९, २०८० मंगलबार १७:४२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।