पार्टीको मागमा लिखित सहमति नभए एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्ष र प्रधानमन्त्रीलाई विश्वासको मत नदिने!

पार्टीको मागमा लिखित सहमति नभए एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्ष र प्रधानमन्त्रीलाई विश्वासको मत नदिने!

काठमाडौँ : एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट राष्ट्रिय सभाको अध्यक्षका उम्मेदवार र प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सर्तहरूमा सहमति जनाउनुपर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले पार्टीले भनेका कुरामा लिखित सहमति जनाए मात्रै राष्ट्रिय सभा अध्यक्ष र विश्वासको मतमा सहयोग गर्ने निर्णय गरेको हो।

पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले पार्टीले प्रधानमन्त्रीलाई पार्टीको मागहरू भनिसकेको र त्यसबारे लिखित प्रतिबद्धता नआए राष्ट्रिय सभाको अध्यक्षको पक्षमा र प्रधानमन्त्रीलाई विश्वासको मत नदिने दाबी गरे।

प्रधानमन्त्री प्रचण्ड समक्ष एकीकृत समाजवादीले राखेको मागहरू के हुन् भन्ने उनले खुलाएनन्। ‘

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिने या नदिने बारे निर्णय गरेका छैनौँ,’ उनले भने’ हामीले भनेको केही कुरामा लिखित सहमति गर्नुभयो भने भोट दिन सक्छौँ।‘

उनले आफ्नो पार्टीको मागहरूमा लिखित सहमति गर्न नमाने सत्ता गठबन्धनबाट राष्ट्रिय सभामा उम्मेदवार बनेका नारायण दाहालको पक्षमा भोट नहाल्ने र प्रधानमन्त्रीलाई विश्वासको मत पनि नदिने दाबी गरे।

फागुन २८, २०८० सोमबार १५:५०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।