रविभन्दा तल्लो वरियतामा सरकारमा गएका यादवको तर्क'जनताको सेवा गर्न वरियताको मतलब हुन्न’

काठमाडौँ : उपप्रधानमन्त्रीको सबैभन्दा तल्लो वरियता लिएर स्वास्थ्यमन्त्री भएका उपेन्द्र यादवले जनताको सेवा गर्नेलाई वरियताको मतलब नहुने दाबी गरेका छन्। वरियताको विवाद निकालेर सरकारमा ढिला सहभागी भएका उनले आइतबार स्वास्थ्यमन्त्रीको रूपमा शपथ लिएर पदभार ग्रहण गर्नेक्रममा यस्तो दाबी गरेका हुन्।
पटक पटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको व्यक्ति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरियता स्वीकार गरेकोबारे सञ्चारकर्मीहरूले जिज्ञासा राखेका थिए। उनले भने ‘जनताको सेवा गर्नेलाई वरियताको मतलब हुन्न।‘
उनले स्वास्थ्य सेवालाई सहज र सबैको पहुँचमा पुर्याउनु नै चुनौती भएको बताउँदै ‘पहिला पनि राम्रै फिड ब्याक आएको छ। त्यो भन्दा अगाडि बढाउन सकिन्छ भनेर आएको हुँ।’ स्वास्थ्यमा उनले दोस्रो पटक नेतृत्व गरेका हुन्।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएका थिए।
फागुन २७, २०८० आइतबार १४:१७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।