रेशम चौधरीलाई नाउपाको अध्यक्षमा निर्वाचन आयोगको अस्वीकार, रञ्जिता नै अध्यक्ष

काठमाडौं : निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको वैधानिकता दिन अस्वीकार गरेको छ।
बिहीबार यस सम्बन्धी निर्णय गर्दै आयोगले पुरानै अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको आयोगका सहसचिव यज्ञ भट्टराईले जानकारी दिए।
‘...विधानको संशोधनको अभिलेख अद्यावधिक गर्न मिलेन । राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ नियमको २५ को उपनियम (६) बमोजिम नागरिक उन्मुक्ति पार्टी नामक राजनीतिक दलको साविकको विवरण नै कायम रहेकाले ऐ. नियमावलीको नियम २५ को उपनियम (६) बमोजिम सोको जानकारी सम्बन्धित दललाई गराउने,’ आयोगको निर्णयमा भनिएको छ।
नाउपाले गत पुस २७ गते कैलालीको टीकापुरमा पार्टी महाधिवेशन गरेर अध्यक्षमा रेशमलाई चयन गरेको थियो। महाधिवेशनको निर्णयअनुसार केन्द्रीय समिति अद्यावधिक गर्न आयोगमा पठाइएको थियो।
आयोगले महाधिवेशनबाट रेशम नेतृत्वमा चयन कार्यसमितिलाई अस्वीकार गर्दै श्रेष्ठ नेतृत्वकै कार्यसमितिलाई निरन्तरता दिएको छ।
फागुन २४, २०८० बिहीबार १६:५१:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।