सुसाइड नोट सालिनले नै लेखेको पुष्टि, भनेकी थिइन्- ‘सरी एभ्रिबडी, मम्मी र बाबालाई याद गर्छु भन्दिनू’

काठमाडौं : चितवनको एकता शिशु निकेतन स्कुलको छात्रावासमा मृत भेटिएकी सालिन पोखरेलले आत्महत्या गर्नुअघि लेखेको ‘सुसाइड नोट’ उनले नै लेखेको पुष्टि भएको छ।
घटनास्थलमा भेटिएको सुसाइड नोटसँग सालिनले लेखेको परीक्षाको उत्तरपुस्तिकाको अक्षर ‘कमन अथर’ भएको विधि विज्ञान प्रयोगशालाबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।
कार्यालयले परीक्षण गर्न नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुसी, काठमाडौं पठाएको सुसाइड नोटको रिपोर्ट मंगलबार आएको हो।
सालिनले सुसाइड नोटमा लेखेकी छिन्, ‘सरी एभ्रिबडी, मैले अहिलेसम्म जति पनि गल्ती गरेँ, मेरो मम्मी बाबालाई याद गर्छु भन्दिनु, आईएम सरी!’
सालिन फागुन १२ गते छात्रावासको पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
त्यसपछि उनको परिवारले बलात्कारपछि हत्या गरिएको बताएका थिए। तर, पोस्टमार्टमको रिपोर्टले सालिनको मृत्युको कारण 'ह्याङ्गिङ' भएको पुष्टि भएको थियो।
यता, परिवारले ज्यानसम्बन्धी कसुरमा जाहेरी समेत दिएको थियो। सोही जाहेरीका आधारमा विद्यालयमा प्रधानाध्यापक बालहरी देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावासका इन्चार्ज कमल शर्मा पौडेललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
यसैबीच परिवारले सालिनको आजै अन्त्येष्टि समेत गरिसकेको छ।
फागुन २२, २०८० मंगलबार १९:४३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।