बालेनलाई स्वतन्त्र सांसद अमरेशकुमार सिंहको चेतावनी
 
                    
                    
                    
                    काठमाडौं : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरभित्रका कवाडी व्यवसायी तथा संकलनकर्ताहरूमाथि मेयर बालेन शाहले दुर्व्यवहार गरेको भन्दै विरोध जनाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महानगरमा कुनै विकासको भान हुने गरी काम नगर्ने तर फुटपाथ व्यापारीलाई त्रसित बनाउने, कवाडीहरूलाई हटाउने जस्ता ज्यादती काममा मात्र महानगर संलग्न हुने गरेको आरोप लगाए।
उनले भने, ‘महानगरमा विकासको भान हुन चाहिँ नपाउने तर कहिले फुटपाथको व्यापारीलाई त्रसित बनाउने टाउको फुटाउने कहिले कवाडीहरूलाई हटाउने। यो कुनै मेयरले बनाएको काठमाडौं होइन, संघीय राजधानी हो। यहाँ एउटा गरीब पनि बस्न पाउँछ, चेपाङ पनि बस्न पाउँछ। काठमाडौंको मेयरलाई भन्न चाहन्छु मेयरबाट यस्तो हर्कत हट्नुपर्छ। नत्र काठमाडौं संघर्षको मैदान हुन्छ। न त संघीय सरकारको कन्ट्रोलमा हुन्छ, मेयरको त कुनै औकात नै छैन।’
शुक्रबार कवाड संकलन गरेर राख्ने ठाउँमा डोजर चलाएको र राख्न नदिएको भन्दै काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।
काठमाडौं महानगरभित्रका कवाडी व्यवसायी एवं संकलनकर्ताहरुले मेयर बालेन्द्र साहले आफूहरूविरुद्ध ज्यादती गरेको आरोप लगाएर थापाथली, त्रिपुरेश्वर हुँदै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पुग्नेगरी महानगरको निर्णयविरुद्ध जुलुससहित विरोध आन्दोलन गरेका हुन्।
फागुन १८, २०८० शुक्रबार १४:१३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    