नेपाल वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

नेपाल वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा पुगेको छ।

समूह ‘बी’को हिजो भएको खेलमा प्यालेस्टाइनले सिरियालाई हराएपछि नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

त्यसअघि हिजै भएको अर्को खेलमा नेपालले इराकलाई ५-० गोल अन्तरले पराजित गरेको थियो। पहिलो खेलमा नेपालले सिरियालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो।

आठ राष्ट्र सम्मिलित प्रतियोगिताको दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदा समान अंक रहेको प्यालेस्टाइन दोस्रो स्थानमा छ।

अब समूह चरण अन्तर्गत शनिबार सिरिया र इराक तथा प्यालेस्टाइन र नेपाल खेल्नेछन्। प्यालेस्टाइनले अन्तिम खेलमा नेपाललाई हराए मात्र समूह विजेता बन्नेछ। नेपाललाई भने समूह विजेता बन्न बराबरी पर्याप्त हुनेछ।

यस्तै अर्को समूहमा पाँच पटकको विजेता जोर्डन र लेबनान सेमिफाइनलमा पुगिसकेका छन्। शुक्रबार हुने लेबनान र जोर्डनको खेलले समूह विजेताको छिनोफानो हुनेछ।

फागुन ११, २०८० शुक्रबार ०९:१३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।