बालेनप्रति अमरेशको व्यङ्ग्य : अदालतले फिर्ता गरिसकेको बालुवाटारको जमिन फेरि फिर्ता गर्न जानुभयो !
 
                    
                    
                    
                    काठमाडौं : प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले अदालतको फैसलाबाट फिर्ता भएको बालुवाटारको जग्गा खाली गराउन लागि परेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)प्रति प्रश्न उठाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले कार्यकारीको हिम्मतबाट नभई अदालतबाटै ललिता निवासको जग्गा फिर्ता भएको बताए। मेयर बालेनले पनि ती जग्गामा ध्यान नदिएको उनले आरोप लगाए।
'छायाँ सेन्टरको जग्गा कहिले फिर्ता हुन्छ? बाँसबारी छालाजुत्ता उद्योगको जग्गा कहिले फिर्ता हुन्छ? बालमन्दिरको जग्गा कहिले फिर्ता हुन्छ?,' सिंहले भने, 'बालुवाटारको जग्गा कार्यकारीको हिम्मतले फिर्ता भएको होइन, सम्मानित अदालतको फैसलाबाट फिर्ता भएको हो।'
उनले स्वतन्त्र उमेदवार भएर निर्वाचित काठमाडौंका मेयरले पनि व्यक्तिले कब्जा गरेका सरकारी जग्गा फिर्ता गराउने हिम्मत नदेखाएको आरोप लगाएका छन्। उनले अदालतले फिर्ता गरिदिइसकेको जमिन मेयर बालेनले फेरि फिर्ता गर्न लागि पर्नुको अर्थ नभएको टिप्पणी गरे।
'म काठमाडौंका मेयरलाई प्रश्न गर्न चाहन्छु, अदालतले फिर्ता गरिदिएको बालुवाटारको जग्गा खाली गर्न त जानुभयो, छायाँ सेन्टर र बाँसबारी छालाजुत्ता उद्योगको जग्गा र बालमन्दिरको जग्गा फिर्ता गर्न कहिले जानुहुन्छ?”
फागुन १०, २०८० बिहीबार १४:३४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    