टिमलाई राम्रो कोच र फिनेटश ट्रेनर एकदमै खाँचो छ : कप्तान बर्मा
 
                    
                    
                    
                    काठमाडौं : नेपाली राष्ट्रिय महिला टिमकी कप्तान इन्दु बर्माले टिममा राम्रो प्रशिक्षक र फिटनेश ट्रेनरको खाँचो रहेको बताएकी छन्।
एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मेलिसयासँग पराजित भएर नेपाल फर्किएपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कप्तान बर्माले टिममा राम्रो कोच र फिटनेश ट्रेनरको खाँचो रहेको बताएकी हुन्।
नेपालको फिल्डिङले अझै राम्रो गर्न नसकेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भनिन्, ‘राम्रो कोच, फिल्डिङ कोच वा फिनेटश ट्रेनर टिमलाई एकदमै आवश्यक छ।’
कप्तान बर्माले सीता रानामगर र रुबिना क्षेत्रीको लागि भएपनि अहिलेको टुर्नामेन्ट जित्नुपर्ने बताइन्। उनीहरूले नेपाली राष्ट्रिय टोलीलाई दिएको योगदानको कदर गर्दै उनले पछिल्लो १२ वर्षदेखि नेपाल उपाधिविहीन भएकोमा दुःखी भएको बताइन्।
मुख्य बलर घाइते हुँदा र फिल्डिङमा चुक हुँदा मलेसियाविरुद्धको सेमिफाइनल आफ्नो हातबाट गुमेको उनले बताइन्।
‘यसपटक हामीलाई ठूलो आश थियो। तर, भएन,’ उनले भनिन्, ‘मलेसियाविरुद्ध पनि जित निकाल्छौं भन्ने थियो तर अन्तिम मोमेन्टमा के भयो–भयो।’
फागुन ७, २०८० सोमबार ०८:५४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    