प्रिमियर लिग : रासमको दुई गोलमा लुटन टाउनमाथि म्यानचेस्टर युनाइटेड विजयी
 
                    
                    
                    
                    काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। आइतबार राति भएको खेलमा युनाइटेडले लुटन टाउनलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
युनाइटेडको जितमा दुवै गोल रासम होजलुन्डले गरे। उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। उनैले खेलको सातौं मिनेटमा एलेजेन्ड्रो ग्रान्चोको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनाएको थियो।
तर, खेलको १४औं मिनेटमा कार्लटन मोरिसले लुटन टाउनका लागि गोल फर्काउँदै अन्तरकम गरेका थिए।
पहिलो हाफको १५ मिनेट भित्र कुल ३ गोल निस्किए पनि बाँकी समयमा थप गोल नहुँदा अन्ततः युनाइटेड २-१ को जितका साथ तालिकामा ३ अंक थप्न सफल भयो। जितसहित युनाइटेड ४४ अंक बनाउँदै तालिकाको छैटौं स्थानमा रहेको छ भने पराजित भएको लुटन २० अंकका साथ १७ औं स्थानमा छ।
प्रिमियर लिगकै अर्को खेलमा ब्राइटनले सेफिल्ड युनाइटेडमाथि ५-० को एकतर्फी जित दर्ता गरेको छ । पाँच मध्य एक गोल भने उपहार पाएको थियो। १३ औं मिनेटमा सेफिल्डका मेसन होलगेट रातो कार्ड पाउँदै मैदान छाडेपछि १० खेलाडीमा झरेको थियो।
यसैगरी, फाकुन्डो बुओनानोटले २०औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । डेनी वेलब्याकले २४ औं मिनेटमा अग्रता दोब्बर बनाए।
पहिलो हाफमा दुई गोल गरेको ब्राइटनले ७५औं मिनेटमा एक गोल उपहार पायो । सेफिल्डका ज्याक रोविनसनले आफ्नै पोस्टमा गोल गरेपछि ब्राइटनले अग्रता तेब्बर बनायो।
त्यस्तै, ७८औं मिनेटमा सिमनो एडिंग्राले व्यक्तिगत पहिलो तथा टिमका लागि चौथो गोल गरे। उनैले व्यक्तिगत दोस्रो गोल ८५औं मिनेटमा गर्दा ब्राइटनले सेफिल्डमाथि ५-० को सहज र फराकिलो जित निकाल्न सफल भयो।
जितपछि ब्राइटन ३८ अंकका साथ तालिकाको सातौं स्थानमा छ । पराजित भएको सेफिल्डभने सबैभन्दा पुच्छारमा १३ अंकका साथ रहेको छ।
प्रिमियर लिगको २५औं चरणको खेल जारी रहँदा लिभरपुल ५७ अंकका साथ शीर्ष स्थानमा रहँदा दोस्रो स्थनमा रहेको आर्सनलको ५५ तथा तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५३ अंक रहेको छ।
फागुन ७, २०८० सोमबार ०७:४९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    