एसीसी महिला प्रिमियर कप : यूएईले थाइल्याण्डलाई दियो ७१ रनको लक्ष्य
 
                    
                    
                    
                    काठमाडौं : एसीसी महिला प्रिमियर कपको पहिलो सेमिफाइनलमा यूएईले थाइल्याण्डलाई ७१ रनको विजयी लक्ष्य दिएको छ।
मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७० रन बनायो। यूएईका लागि कविशाले सर्वाधिक २१ रन बनाइन्।
राम्रो सुरुवात गरेको यूएईले पहिले विकेट ३४ रन हुँदा गुमायो। त्यसपछि यूएईको विकेट पतन रोकिएन। यूएईका लागि कप्तान इशा ओजाले १४ रनको योगदान गरिन्।
यूएईविरुद्ध कसिलो बलिङ गरेको थाइल्याण्डका तिपाचा पुतावाङले र एपसिरा सुवान्चोराथीले समान २ २ विकेट लिए। ७१ रनको लक्ष्यसहित थाइल्याण्ड जवाफी ब्याटिङमा छ।
अर्को सेमिफाइनलमा आजै नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान सवा ११ बजे सुरु हुनेछ। सेमिफाइनल खेलमा जित निकै महत्त्वपूर्ण छ। आजको खेल जिते नेपालले एसिया कपमा स्थान सुरक्षित गर्नेछ।
जारी प्रतियोगितामा अहिलेसम्म नेपालले सहज प्रतिद्वन्द्वी पाए पनि सेमिफाइनल प्रतिस्पर्धात्मक हुनेछ। तर नेपाली खेलाडी राम्रो फर्ममा रहेका कारण यही लय कायम राख्न सके नेपाल जितबाट धेरै टाढा भने छैन।
सेमिफाइनल पुगिसकेको नेपालले इमर्जिङ टिम एसिया कपमा भने स्थान बनाइसकेको छ।
फागुन ४, २०८० शुक्रबार १०:०६:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    