कुवेतलाई ८ विकेटले हराउँदै नेपाली टिम सेमिफाइनलमा
 
                    
                    
                    
                    काठमाडौं : कुवेतविरुद्ध आठ विकेटको जित निकाल्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टिम मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको क्वार्टरफाइनलमा कुवेतविरुद्व नेपाली टिमले डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार जित निकालेको हो।
टस जितेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रनको योगफल खडा गर्यो। ७४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ब्याटिङ गरिरहँदा पानी परेपछि लक्ष्य घटाइएको थियो। डीएलएस पद्दतिअनुसार १२ ओभरमा ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो।
नेपालको जितमा कप्तान इन्दु वर्मा २२ रनमा अविजित रहिन्। उनले २१ बलमा एक चौका प्रहार गरिन्।
सीता रानामगरले १७ रन थप्दा कविता जोशी चार रनमा अविजित रहिन्। कुवेतका मर्यम ओमारले एक विकेट लिइन्।
त्यसअघि कुवेतका लागि प्रियादा मुरालीले २९ रन बनाइन्। बालासुब्रमनी सान्ती र खाजिदा खालिलले समान १३ रन थपे । अन्यले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालकी सीता रानामगरले तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी सीताले ११ रनमात्र खर्चिइन्। रुविना क्षेत्री र कविता कुँवरले समान दुई विकेट लिए।
अब नेपालले फाइनल प्रवेशका लागि घरेलु टिम मलेसियासँग खेल्नेछ। यी दुई टिमबीचको खेल शुक्रबार हुनेछ।
फागुन २, २०८० बुधबार १९:१९:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    