मणिमुकुन्द राष्ट्रिय भलिबल : सेमिफाइनलमा तीन विभागीय टोलीसहित गण्डकी भिड्दै
 
                    
                    
                    
                    बुटवल : रुपन्देहीको तिलोत्तमामा जारी नवौँ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टिमको दबदबा कायमै रहेको छ। विभागीय टिम नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी र गण्डकी प्रदेश खेलको सेमिफाइनलमा पुगेपछि फाइनल रोचक हुने देखिएको हो।
मंगलबारको खेलमा २५–१७,२५–१३,२५–१५ को सोझो सेटमा कोशी प्रदेशलाई रोक्दै पुलिस क्लब विजयी भएको छ। आजको खेलमा म्यान अफ म्याच घोषित भएका पहल गहतराजलाई नगदसहित सम्मान गरिएको छ।
आजै भएको दोस्रो खेल बागमती प्रदेशलाई एपीएफ क्लबले पराजित गरेको छ। एपीएफले पहिलो सेट २५– १८ बनाएर पहिलो सेट हात पारेको थियो तर दोस्रो सेटमा भने बागमतीले एपीएफलाई १८ मा रोक्दै २५ बनाएर पुनः खेल बराबरी बनायो।
एक/एक सेट बाँडेपछि अरू सेटमा एपीएफले बागमतीलाई २५–१९, २५–१९ मा रोक्दै सेमिफाइनल यात्रा तय गरेको हो।
यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपीएफका खेलाडी लोकेन्द्र गिरी म्यान अफ द म्याच भए। उनलाई नगदसहित सम्मान गरिएको छ।
त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच भएको तेस्रो सेटमा आर्मी विजयी भएको छ। आर्मीले २५–१५,२५–१९,२५–१९ बनाएर जित हात पारेको हो। म्यान अफ द म्याच घोषित आर्मीका हरि अधिकारीलाई नगदसहित सम्मान गरिएको छ।
त्यस्तै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश बीच भएको चौथो खेलमा गण्डकी विजयी बन्यो। गण्डकीले २५–१७, २५–१८, २५–२२ मा लुम्बिनीलाई रोक्दै सेमिफाइनलको यात्रा तय गरेको छ।
यस खेलमा गण्डकीका विश्वास अधिकारी खेलको म्यान अफ द म्याच भए। उनलाई खेलकुद परिषद्का लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले नगदसहित सम्मान गरे।
प्रतियोगितामा प्रथम टिमले नगद २ लाख १ रूपैँया सहित कप, मेडल, प्रमाणपत्र पाउने छन् भने द्वितीय हुनेले १ लाख ५० हजार १ रूपैँया नगद, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाउनेछन्।
त्यस्तै, तृतीय हुनेले नगद १ लाख १ रूपैँया नगदसहित कप, मेडल, प्रमाणपत्र पाउने छन् भने सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रूपैँयासहित कप, मेडल, प्रमाणपत्र पाउने खेल संयोजक सुरेन्द्र गुरुङले बताए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत रुपमा नगदसहित मायाको चिनोले सम्मान गरिने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबका सल्लाहकार मिलन रानाले बताए।
प्रतियोगिता माघ ३ गते सम्म सञ्चालन हुने छ। खेलको मुख्य प्रायोजक तिलोत्तमा नगरपालिका हो भने लुम्बिनी प्रदेश खेलकुद परिषद खेल प्रर्वद्धक रहेको छ।
लुम्बिनी प्रदेश भलिबल संघ, जिल्ला भलिबलको विशेष सहयोगमा प्रतियोगिता जारी रहेको छ।
फागुन १, २०८० मंगलबार २१:४७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    