रुविनाको मेडन शतकमा माल्दिभ्ससामू नेपालको २२८ रनको विशाल लक्ष्य
 
                    
                    
                    
                    काठमाडौं : रुविना क्षेत्रीको मेडन शतकमा एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले माल्दिभ्सलाई २२८ लक्ष्य दिएको छ।
मलेसियाको युकेएम वाईएसडी ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर २२७ रन बनायो।
नेपालकी रुविना क्षेत्रीले अविजित शतक बनाउँदा पूजा महतोले अविजित रहँदै अर्धशतकीय पारी खेलिन्। महिला क्रिकेटमा शतक बनाउने रुविना पहिलो नेपाली खेलाडी हुन्।
यी दुईले १६६ रनको साझेदारी गरेका हुन्। यो नेपाली महिला क्रिकेट टिमका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो।
५९ बलको सामना गरेकी रुविनाले १० चौका र ५ छक्काको मदद्तमा ११८ रन बनाइन्। उता ३६ बलको सामना गरेकी पूजाले ५ चौका र १ छक्काको मदद्तमा ५९ रन जोडिन्।
त्यसबाहेक सीता रानामगर १५, कविता कुँवर १३ रन र डल्ली भट्ट ६ रनमा आउट हुँदा कप्तान इन्दु शर्मा पहिलो बलमै आउट भइन्।
माल्दिभ्सका शम्मा अलीले तीन र नब्बा नसीमले एक विकेट लिए।
माल्दिभ्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
फागुन १, २०८० मंगलबार १२:५२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    