गृहमन्त्रीलाई सांसद थानीको सुझाव- ‘हान्नुस् न, जो जान्छ जाओस्’

काठमाडौं : सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद हृदयराम थानीले देश किर्ते हुनबाट जोगाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले यस्तो आग्रह गरेका हुन्।
‘देश कीर्ते हुनबाट रोक्न कसै न कसैले पहल लिनैपर्छ,’ गृहमन्त्रीतर्फ इशारा गर्दै उनले भने, ‘तपाईं नै अग्रसरता लिनुस्।’
विमानस्थलमा कर्मचारी र प्रहरी भिडेको तथा गृहसहित मिलेर विषय टालटुल गरिएको भन्दै उनले यसबारे जानकारी गराउन समेत आग्रह गरे।
उनले गृहमन्त्री श्रेष्ठलाई खुट्टा नकमाउन समेत आग्रह गरे।
‘तपाईंको इज्जत त राम्रै छ। तर, किन खुट्टा कमाएको? तपाईंको खुट्टा किन काम्न थाल्यो?’ उनले थपे, ‘हान्नुस् न, जो जान्छ जाओस्। हामी जान्छौँ भने जाऔँ। तपाईं नै जानुहुन्छ भने जानुहोस्। सभापतिजी हाँस्नुभयो, रवि लामिछानेजी हाँस्नुभयो। बुझेर हाँस्नुभएको हो। म त यहीँ बसेर बुझ्दै छु।’
माघ २८, २०८० आइतबार १३:२७:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।