एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, भुटान ८ विकेटले पराजित
 
                    
                    
                    
                    काठमाडौं : एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ।
भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्दै आठ विकेटको जित निकाल्यो।
नेपालका लागि सीता राना मगरले अविजित सर्वाधिक ३२ रनको इनिङ्स खेलिन्। रुबिना क्षेत्रीले अविजित १७ रन बनाउँदा कविता कुँवर र कप्तान इन्दु बर्मा क्रमशः ५ र १ रनमा आउट भए।
भुटानकी अञ्जली गुरुङ र अञ्जुली घलीले समा एक-एक विकेट लिए।
त्यसअघि बायोमस ओभलमा टस हारेर पहिला ब्याटिङमा तानिएको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ६५ रन बनायो।
उसका लागि न्वाङ्ग छोदेनले सर्वाधिक २४ रन बनाइन्। डेछेन वाङ्मोले १७ रन बनाउँदा छिरिङ जाङ्मोले १६ रन जोडिन्।
नेपालका कविता कुँवर, कविता जोशी, इन्दु बर्मा र सीता राना मगरले समान एक-एक विकेट लिए।
नेपालकी सीता राना मगर प्लेयर अफ दि म्याच बनिन्।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको थियो।
१६ देश सहभागी प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ। उक्त समूहमा नेपालसँगै हङकङ, भुटान र माल्दिभ्स छन्।
नेपालले समूह चरणको आफ्नो तेस्रो खेल मंगलबार माल्दिभ्ससँग खेल्दैछ। प्रत्येक समूहका शीर्ष दुई टिमले क्वार्टरफाइनल खेल्नेछन्।
प्रिमियर कपको फाइनल खेल्ने दुई टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछन्।
माघ २८, २०८० आइतबार ०९:४४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    