४ नेपाली फुटबल खेलाडी उडे अस्ट्रेलिया, राष्ट्रिय टिमबाट खेलेका आशिष र सेसेहाङ पनि
 
                    
                    
                    
                    काठमाडौं : एकपछि अर्को गर्दै लगातार विदेश पलायन भइरहेको बेला अरू चार नेपाली फुटबल खेलाडी अस्ट्रेलिया प्रस्थान गरेका छन्।
मंगलबार नेपाली राष्ट्रिय फुटबलर सिमान्त थापा, सेसेहाङ आङदेम्बे, आशिष चौधरी र अनिश देउला अस्ट्रेलिया प्रस्थान गरेका हुन्।
एन्फाभित्रको बढ्दो विवादका कारण सुनौलो भविष्यको खोजी भन्दै विदेशिएका सिमान्त, सेसेहाङ र आशिष राष्ट्रिय टिमको क्यापसमेत जितिसकेका खेलाडी हुन्।
सिमान्तले घरेलु लिग जावलाखेल युथ क्लबबाट खेलेका थिए। जावलाखेलको कप्तानी सम्हालेका उनले हालै सम्पन्न नेपाल सुपर लिग (एनएसएल)मा वीरगन्ज युनाइटेडबाट खेलेका थिए।
चर्च ब्वाइज युनाइटेडबाट खेल्ने आशिष पछिल्लो समय राष्ट्रिय टिमका समेत नियमित सदस्य थिए। उनी एनएसएलमा धनगढी एफसीका मार्की खेलाडी बन्दै टिमलाई फाइनलसम्म पुर्याएका थिए।
सेसेहाङ भने त्रिभुवन आर्मी फुटबल क्लबमा आबद्ध थिए। उनले ललितपुर सिटी एफसीबाट एनएसएलको दोस्रो सँस्करण खेलेका थिए। जावलाखेलका गोलकिपर अनिशले भने राष्ट्रिय टिममा स्थान बनाउन सकेका थिएनन्।
पछिल्लो समय बिमल घर्ती मगरसहितका उत्कृष्ट खेलाडीहरू आर्थिक कठिनाइका विदेशिइरहेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) सँग कति खेलाडी बाहिरिए भन्ने आधिकारिक तथ्यांक नरहे पनि करिब ५० खेलाडी बाहिरिसकेका छन्।
माघ २४, २०८० बुधबार १६:०९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    