टेरामक्समा अख्तियारले बयान लिन ‘नभेटेको’ स्वास्थ्यमन्त्री सेकुवा पोल्दै, रमाउँदै
काठमाडौँ : टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानमा लागि नभेटेको दाबी गरिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत आफ्नो टिमसँग सेकुवा पोल्दै बसेको भिडियो सार्वजनिक भएको छ।
उनकै समूहका प्रेस सहयोगी रामचन्द्र दुलालले मन्त्री बस्नेतसहित सेकुवा पोल्दै गरेको भिडियो फेसबुकमा सार्वजनिक गरेका हुन्। भिडियोमा मन्त्री बस्नेत सेकुवा पोल्दै ‘पिरो चैँ हुन्न, अरू ठिक छ’ भन्दै गरेको देखिएका छन्।
समूहका अन्यले सेकुवा निकाल्दै 'मोहनदाईलाई काटेर दिऊँ न' भनेको अडियोमा सुनिन्छ। समाचार तयार पारेको समयभन्दा आधा घण्टा अगाडि सार्वजनिक भएको भिडियो कहिलेको हो अनि कहाँको हो भन्ने खुलेको छैन।
उनी सोमबार बाह्रबिसे गएको उनै दुलालले राखेका तस्बिरहरूमा देखिन्छ। त्यसको आधारमा बाह्रबिसेकै कतै बेलुका मन्त्री बस्नेत समूहसँग रात्रिकालीन रमाइलोमा रहेको देखिन्छ।
बस्नेत सञ्चारमन्त्री रहेको बेलामा खरिद प्रक्रिया अगाडि बढेको टेरामक्समा भ्रष्टाचार भएको दाबीसहित परेको उजुरीमा अख्तियारले अनुसन्धान गरिरहेको छ। बस्नेतसहित अर्का पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत बयानका लागि 'नभेटिएको' समाचार सार्वजनिक भएको थियो। कार्की सोमबार संसद् अधिवेशनमा सहभागी हुँदै पत्रकारहरूलाई ‘स्वस्थ पत्रकारिता गर्न’ सल्लाह दिएर हिँडेका थिए।
माघ २२, २०८० सोमबार १९:५७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।