राहुल महरालाई थुनामै राख्ने जिल्लाको आदेश उच्चबाट सदर

काठमाडौँ : सुन तस्करीको मुद्दामा राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले समेत सदर गरेको छ।
भेपको आवरणमा भएको सुन तस्करीमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए। उनी पूर्व सभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा हुन्।
उच्चका न्यायाधीश अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले जिल्ला अदालत काठमाडौँको आदेश बिहीबार सदर गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीमाथि आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र सङ्गठित अपराधको अभियोगमा अनुसन्धान गरेको थियो।
पहिलो चरणको अनुसन्धानमा महराले उन्मुक्ति पाएपछि प्रहरीको तीव्र आलोचना भएपछि दोस्रो चरणको अनुसन्धानमा उनी पक्राउ परेका थिए। सिआइबीको प्रस्तावित राय अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले उनी विरुद्ध मुद्दा दायर गरेको थियो।
माघ ११, २०८० बिहीबार १९:३२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।