अदालतको आदेशपछि खुल्यो बीपी प्रतिष्ठानको उपकुलपति कार्यालयमा मेयर हर्क साम्पाङले गरेको तालाबन्दी

काठमाडौं : उच्च अदालत बिराटनगरको अन्तरिम आदेशपछि धरान उपमहानगरपालिकामा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी खुलेको छ।
उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्न/नगराउन आदेश जारी गरेपछि उपकुलपतिको कार्यकक्षमा गरेको तालाबन्दी हिजो खुलेको हो।
उपकुलपतिको कार्यकक्षमा नगर प्रमुख साम्पाङले तालाबन्दी गरेपछि परेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले कारण देखाऊसहित आदेश जारी गरेपछि ताला खुलेको हो।
अदालतको आदेशपछि नगर प्रमुख साम्पाङले ताला खोल्न सचिवालयका कर्मचारी सुदर्शन लिम्बूलाई पठाएका थिए। रिटमा जिल्ला प्रशासन कार्यालय, सुनसरी र धरानका नगर प्रमुख साम्पाङसहित नौ विपक्षीका नाममा अदालतले अन्तरिम आदेशसहित कारण देखाऊ आदेश जारी गरेको हाे।
सञ्जीवकुमार साहद्वारा उत्प्रेषणयुक्त परमादेश माग गर्दै दायर रिटमा जिल्ला प्रशासन कार्यालय, सुनसरीसमेत नौ विपक्षीविरुद्ध उच्च अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हाे।
माघ ६, २०८० शनिबार १४:५४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।