केएमसीका डा. बिशदको निलम्बन फिर्ता

केएमसीका डा. बिशदको निलम्बन फिर्ता

काठमाडौं : आवासीय चिकित्सक विशद दाहालमाथिको निलम्बन केएमसी अस्पतालले फिर्ता लिने भएको छ।

आज बिहान भएको वार्तापछि अस्पताल निलम्बन फिर्ता लिन तयार भएको हो।

वार्ता टोलीमा अस्पताल व्यवस्थापनको तर्फबाट प्रबन्धक नारायणप्रसाद दाहाल, केपी शर्मा र लक्ष्मण अधिकारी तथा निलम्बनमा परेका चिकित्सक डा. विशद दाहाल र उनका आवासीय चिकित्सकका तर्फबाट प्रतिनिधिहरू थिए।

केएमसीले पीजी दोस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सक डा. विशदलाई अनुशासन उल्लंघन गरेको र कर्तव्य पालना नगरेको भन्दै पुस १२ गते एक महिनाका लागि निलम्बन गरेको थियो। उनको निलम्बन नियमसंगत नभएको भन्दै केएमसीमा पीजी पहिलो र दोस्रो वर्षका आवासीय चिकित्सक आन्दोलनमा थिए।

आजको वार्तामा दाहालको निलम्बन आजैदेखि फिर्ता लिने भएपछि आन्दोलनमा रहेका ८१ जना चिकित्सक तथा कर्मचारी काममा फर्किन तयार भएका छन्।

‘आजैदेखि काम काजमा जाने सहमति भएको छ,’ प्रबन्धक दाहालले भने, ‘​​​​​​​८१ जनाले काम छाडेका थिए। सबै काममा फर्किन तयार भए। स्वास्थ्य शिविर पनि अब दुई हप्तामा एक पल्ट गर्ने गरेर सहमति भयो।’

डा. बिशदको निलम्बन फिर्ता लिनको लागि हिजो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले निर्देशन दिएका थिए।

पुष २५, २०८० बुधबार १६:०३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।