सत्ताधारीले नपत्याएपछि एमालेले १९ सिटमै उम्मेदवार तोक्यो, एक सिट नपाएको राप्रपाले नौ उम्मेदवार तय गर्यो

काठमाडौँ : राष्ट्रिय सभामा आफ्ना दलको उम्मेदवार जिताउन बहुदलीय पद्धतीविपरित सत्ताधारी दलहरूसँग सहकार्यको प्रयास असफल भएपछि प्रमुख प्रतिपक्षी दल एमाले र प्रतिपक्षी दल राप्रपाले उम्मेदवार चयन गरेका छन्।
एमालेले सत्ता घटकसँग रिक्त १९ मध्ये ६ सिट मागेको थियो भने राप्रपाले एक सिट। एमालेको मागमा नेपाली कांग्रेस र माओवादी केन्द्र सकारात्मक भए पनि एकीकृत समाजवादी विपक्षमा उभिदा सहमति हुन सकेन।
एमालेले रिक्त सबै १९ सिटमै आफ्नो उम्मेदवार चयन गरेको छ भने राप्रपाले १९ मध्ये ९ सिटमा मात्रै उम्मेदवार चयन गरेको छ। मतभारका आधारमा सबै क्षेत्रमा सत्ताधारी ६ दल हाबी देखिन्छन्।
एमाले महासचिव शङ्कर पोखरेलले जारी गरेको वक्तव्य अनुसार कोशीमा रुक्मिणी चौधरी र भोजपुरका पर्शुराम अधिकारी, पर्साकी उषादेवी थरुनी, महोत्तरीका अर्जुनकुमार सिंह, दोलखाकी रोचकुमारी चौलागाईं, चितवनका त्रिलोचन निर्मल पौडेल, काठमाडौँका विवेक देवकोटा र धादिङका ध्रुवराज विश्वकर्मा उम्मेदवार चयन भएका छन्।
गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली, मुस्ताङका हेमचन्द्र शेरचन, दाङकी तुलसाकुमारी केसी, पाल्पाका झपेन्द्रबहादुर घर्ती हुम्लाकी विमलाकुमारी शाही, मुगुको डिल्लीप्रसाद भट्ट र दैलेखका हिक्मत विकलाई उम्मेदवार बनाउने भएको छ।
कैलालीकी सावित्रादेवी घिमिरे, कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र कैलालीका रामचन्द्र जोशीलाई उम्मेदवार बनाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।
एक सिट नपाएपछि नौ सिटमा उम्मेदवारी
कोशीको सभामुखमा उम्मेदवारी दिने तर त्यसको सर्तमा राष्ट्रिय सभामा एक सिट दिनुपर्ने सर्त राख्दै सत्ताधारी दलहरूसँग मोलमोलाइमा उत्रिएको राप्रपाले भाग नपाएपछि नौ सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ।
आइतबार बसेको पार्टी बैठकले कोशीमा उद्धव पौडेल, बागमतीमा नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विक र हेमजङ गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
गण्डकीमा गौमती श्रेष्ठ र रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा र विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पुष २२, २०८० आइतबार २१:५६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।