निर्माण अनुमति नै नलिई प्रदर्शन मिति घोषणा गर्छन् फिल्मकर्मी, तीन वर्षपछिको मिति समेत ‘बुक्ड’
 
                    
                    
                    
                    काठमाडौं : नेपाली फिल्मकर्मीहरू फिल्म निर्माण भन्दा पनि प्रदर्शन मिति तोक्न हतारोमा हुन्छन्। फिल्म छायांकनमा जाने टुङ्गो नलाग्दै नयाँ वर्ष, दशैं, तिहार अनि चाडबाडको मिति बुक गरिसक्छन्।
सामाजिक सञ्जालमा हचुवाको भरमा एउटा पोस्टर राखेर होस् या स्टाटस मात्र लेखेर, प्रदर्शन मिति बुक गर्ने लहडै चलेको छ अचेल। एक वर्ष पछिसम्मको मिति त सामान्य नै मान्न थालिसक्यो फिल्म वृत्तले, अब हुँदा-हुँदै तीन वर्षपछिको मितिसमेत निर्माताहरूले बुक गरिसके।
शुक्रबार मात्रै फिल्म ‘दिमाग खराब’का निर्देशक निश्चल बस्नेतले २०८३ सालको दशैंमा प्रदर्शन मिति तोकेर सिक्वेल घोषणा गरे। ‘दिमाग खराब’ले हलमा ५१ दिन मनाएको अवसरमा केक काट्दै उनले यस्तो घोषणा गरेका हुन्। तर, फिल्म निर्माणको लागि अहिलेसम्म चलचित्र विकास बोर्डबाट इजाजत पत्र लिइएको छैन।
आइतबार बिहान उकेरासँगकाे कुराकानी उनले भने, ‘अहिलेलाई फिल्म र प्रदर्शन मिति मात्र घोषणा गरिएको हो, बाँकी सबै पछि हुन्छ।’
केही दिनअघि फिल्म ‘घर ज्वाइँ’का निर्देशक अनिल बुढा मगरले अर्को वर्ष असार २८ गतेको प्रदर्शन मिति बुक गरे। उनले एउटा पोस्टर सामाजिक सञ्जालमा पाेस्ट गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन्।
फिल्म आगामी माघ तेस्रो साताबाट नेपालको पश्चिम जिल्ला रूकुम पूर्व, तकसेरा लगायत स्थानमा छायांकन हुँदैछ। जनक घर्ती मगरको लगानीमा बन्न लागेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुस्कर गुरुङ लगायतले अभिनय गर्दैछन्।
रोहित अधिकारी र ओम अग्रवालले निर्माण गर्न लागेको फिल्म ‘वरिष्ठ बलराम’को पनि प्रदर्शन मिति घोषणा गरिएको छ। आगामी हरितालिका तीज प्रदर्शन मिति तोकिएको फिल्मको अहिलेसम्म छायांकनको टुङ्गो भने लागेको छैन।
यो फिल्ममा पनि दयाहाङ राई नै मुख्य भूमिकाका छन्। माघ तेस्रो साताबाट फिल्म ‘घर ज्वाइँ’को छायांकनमा व्यस्त हुँदा अभिनेता राईले ‘वरिष्ठ बलराम’लाई समय दिन मुस्किल छ। मुख्य अभिनेताले नै समय नदिएपछि तोकिएको समयमा फिल्म प्रदर्शन हुन मुस्किल नै देखिन्छ।
फिल्ममा दयाहाङका अलवा खगेन्द्र लामिछाने र अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले अभिनय गर्दैछन्। यही फिल्मका लागि दिव्या अमेरिकाबाट नेपाल आउने हल्ला छ। फिल्मका निर्माता रोहित अधिकारीले सुटिङको सेड्युल केही पर सरे पनि फिल्म प्रदर्शन भने निर्धारित मितिमा नै हुने दाबी गरे।
फिल्म ‘वरिष्ठ बलराम, ‘घर ज्वाइँ’ले प्रदर्शन मिति तोकेपछि निर्देशक दिनेश राउतले पनि आफ्नो नयाँ फिल्मको प्रदर्शन मिति तोकेका छन्। उनले निर्देशन गर्ने फिल्म ‘गाउँ नै रमाइलो’को बुधबार प्रदर्शन मिति घोषणा गरियो। उनले भने प्रदर्शनका लागि ठूलै समय ताकेका छन्, आगामी वर्षको दशैं।
सामाजिक सञ्जालबाट प्रदर्शन मिति तोकिए पनि फिल्मको छायांकन जेठमा गर्ने तयारीमा निर्देशक छन्। ‘गाउँ नै रमाइलो’मा पनि अभिनेता दयाहाङ राईकै मुख्य भूमिका छ। साथमा आर्यन सिग्देल पनि फिल्ममा अनुबन्धित भएका छन्। निर्माण टिमले दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर गत मंसिरमा चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको थियो।
निर्देशक राउतले ‘पूजार सार्की’को छायांकन सकेपछि यो फिल्मको सुटिङ थाल्ने बताइसकेका छन्।
दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले पनि गत असोजमा नै अर्को सालको दशैंमा फिल्म आउने घोषणाा गरिसकेका छन्। यद्यपि उनीहरूले फिल्मको नाम भने अहिलेसम्म खुलाएका छैनन्। उनीहरूले फिल्मको नाम ‘वडा नम्बर ६ -२’ अथवा ‘छक्का पन्जा ५’ दुईध्ये एक हुनसक्ने बताएका छन्।
यता निर्माता सन्तोष सेनले आफ्नो मेगा प्रोजेक्ट बताएको फिल्म ‘बलिदान’ अर्को साल दशैंमा प्रदर्शन हुँदैछ। उनले फिल्मको छायांकनसमेत थालिकेका छन्। फिल्मको टिजरसमेत उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेका छन्। दशैंको फूलपातीमा फिल्म प्रदर्शन गर्ने उनको तयारी छ।
निर्देशक परिच्छेद सेनले ‘महाराजधिराज’ नामक चलचित्र निर्माणको घोषणा गरेको लामो समय भइसक्दा पनि छायांकन भएको छैन। अहिलेसम्म छायांकनकै टुङ्गो नलागेको फिल्मले २०८१ सालको तिहारमा फिल्म प्रदर्शन गर्ने तोकिसकेको छ।
नेपाली फिल्म क्षेत्रमा निर्माण हुनुअघि नै प्रदर्शन मिति घोषणा गर्नु सामान्यजस्तै भइसक्यो। तोकिएकै मितिमा कतिपय फिल्म बनेर प्रदर्शन भए पनि अधिकांश फिल्म निर्धारित समयमा समेत प्रदर्शन हुन सकेका छैनन्।
यसअघि फिल्म ‘एक भगवत एक गीता’ निर्माण नहुँदै वैशाख १ गतेलाई रिलिज मिति तोकिएको थियो। पछि निर्माण टिमले अनेक बहाना बनाउँदै भदौ २९ गते प्रदर्शन गरेको थियो। झरना थापाको निर्देशन र सुनिलकुमार थापाको लगानीमा बनेको फिल्मको नामका कारण पनि विवाद भएको थियो।
के भन्छ बोर्ड?
यसरी हचुवाको भरमा वषौंअघि फिल्मले प्रदर्शन मिति तोक्दा चलचित्र विकास बोर्डका पदाधिकारी समेत आश्चर्यमा परेका छन्।
फिल्म निर्माणको लागि बोर्डले तीन वर्षको म्याद दिने र त्यो अवधिमा नसिकए एक वर्ष थप गर्न पाइने व्यवस्था रहेको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए।
उनले भने, ‘फिल्म निर्माणको म्याद बोर्डमा तीन वर्षको हुन्छ। तीन वर्षभित्र बनाइ नसके एक वर्ष थप गर्न सकिन्छ। तर, यहाँ के-के नै होला भन्ने तरिकाले वर्षौं अघिबाटै प्रदर्शन मिति तोकेको देख्दा म पनि छक्क पर्छु।’
यद्यपि फिल्मको प्रदर्शन इजाजत र सेन्सरको समयमा हेर्ने अधिकार मात्र बोर्डको भएको उनले बताए।
‘बोर्डले फिल्म छायांकनको इजाजत पत्र र प्रदर्शन अगाडि सेन्सर गर्ने काम गर्छ,’ उनले थपे, ‘प्रदर्शन मिति तोक्ने या न तोक्ने भन्ने कुरा बोर्डसँग सम्बन्ध छैन।’
फिल्म बन्ने ग्यारेन्टी नै नभई प्रचारका लागि घोषणा गरिनु गलत भएको बताउँदै उनले यस्तो गर्दा बनिसकेको फिल्मलाई असर गर्ने तर्क गरे।
‘फिल्म बन्छ नै भन्ने कुनै ग्यारेन्टी छैन। तर, आफ्नो नाम कमाउनका लागि हो या प्रचारका लागि फिल्मको प्रदर्शन मिति तोकिसकेका हुन्छन्। यो गलत प्रवृति हो’, उनले भने, ‘यसले अर्को निर्माण गरेको फिल्मलाई पनि असर पर्न सक्छ।’
पुष १५, २०८० आइतबार ०९:५१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    