‘टेरामक्स’ प्रकरणबारे अख्तियारले अनुसन्धान गर्ने

काठमाडौं : टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ खरिदमा अनियमितता देखिएको आशंका गर्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले यसको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
समितिको बुधबार बसेको बैठकले टेरामक्स प्रणाली खरिदबारे नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका अधिकारीहरूसँग छलफल गरेपछि अख्तियारलाई निर्देशन दिएको हो।
समितिले टेरामक्स खरिद प्रक्रियामा विभिन्न १५ वटा प्रश्न उठाएको छ।
समितिले यो प्रकरणको विस्तृत अनुसन्धान गर्न र हरेक ३० दिनमा प्रगति विवरण लेखा समितिलाई उपलब्ध गराउन समेत अख्तियारलाई निर्देशन दिएको छ।
समितिका सभापति ऋषिकेश पोखरेलले यो प्रकरणको अनुसन्धान गरी अनियमितता भेटिएमा कानुन बमोजिम अभियोजन गर्नका लागि निर्देशन दिइएको बताए।
प्राधिकरणले घट्दो राजस्व र टेलिकम कम्पनीको पारदर्शिता एवं सेवाको गुणस्तर मापनका लागि आवश्यक रहेको भन्दै टेरामक्स जडान गर्ने योजना अघि सारेको थियो। ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमा आएको छ।
पुष ११, २०८० बुधबार १७:०२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।