पहिलो नाटकमै चार युवतीको भूमिकामा देखिँदै मल्लिका

पहिलो नाटकमै चार युवतीको भूमिकामा देखिँदै मल्लिका

काठमाडौं : नेपालमा एक दशक यता रंगमञ्चको पृष्ठभूमिबाट कलाकारले नै फिल्म चलाएका छन्।

फिल्म ‘लुट’रिलिज भएयता हेर्ने हो भने नेपाली फिल्म क्षेत्र नाटकमा अभिनय गरेका कलाकारले धानिरहेका छन्।

दयाहाङ राई, सौगात मल्ल, विजय बराल, पशुपति राई, बुद्धि तामाङ लगायत अधिकांश नाटकका कलाकारले फिल्म क्षेत्र धानेको देखिन्छ। उनीहरू नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्नुअगाडिका कलाकार अहिले विस्थापित नै भइसके।

अन्य कलाकार रंगमञ्चबाट फिल्ममा फड्को मारिरहेका बेला अभिनेत्री मल्लिका महत भने फिल्मबाट नाटकमा सरेकी छन्।

‘यात्रा’ र ‘पानी फोटो’मा महतको रिलिज भइसकेको फिल्म हो भने ‘सतिदेवी’ रिलिज संघारमा छ। तर, रिलिज मिति भने तय भएको छैन।

मण्डला नाटक घरमा पुस १२ गतेबाट मञ्चन हुन लागेको नाटक ‘पगला घोडा’मा उनले चार वटा पात्रको भूमिका निभाउँदैछिन्।

‘मैले यो नाटकमा चार वटी युवतीको भूमिका एक्लै निर्वाह गर्दैछु,’ नाटकबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘यो मेरो पहिलो नाटक हो।’

एकै पटक चार युवतीको भूमिकामा देखिन निकै कठिन हुने उनले बताइन्।

‘धेरै नै कठिन भयो। अहिले आएर बल्ल म अलिकति शान्त भएको हो। नत्र नाटक अभ्यासका क्रममा म निकै नै सिरियस थिए,’ उनले भनिन्, ‘यहाँ आएर मात्रै थाहा भयो कि अभिनय गर्दा धेरै कुराहरू फरक हुँदो रहेछ।’

भारतीय नाटककार बादल सरकारको कथा ‘पगला घोडा’लाई शिव खाँड ठकुरीले नेपाली भाषामा अनुवाद गरेका थिए। सोही कथामा नाटक मञ्चन हुन लागेको हो।

घनश्याम श्रेष्ठले निर्देशन गर्ने नाटकमा प्रमोद अग्रहरीको पनि मुख्य भूमिका छ। उनी पनि नौ वर्षपछि नाटकमा फर्किएका हुन्। मलिका र प्रमोदका अलवा नाटकमा आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारीले अभिनय गर्दैछन्।

पुष १०, २०८० मंगलबार १४:०६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।