विमानस्थल सुन तस्करी छानबिन समितिको प्रतिवेदनमा घले समूहले एक सय ३८ किलो सुन तस्करी गरेको निष्कर्ष, विमानस्थलको सुरक्षामा छिद्रै छिद्र

विमानस्थल सुन तस्करी छानबिन समितिको प्रतिवेदनमा घले समूहले एक सय ३८ किलो सुन तस्करी गरेको निष्कर्ष, विमानस्थलको सुरक्षामा छिद्रै छिद्र

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ किलो सुनको अनुसन्धानमा पक्राउ परेका समूहले पटक-पटक गरेर एक सय ३८ किलो सुन तस्करी गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ।

मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेपछि त्रिभुवन भन्सारले छानबिन गर्न समिति गठन गरेको थियो। समितिले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा सुन तस्करीमा संलग्न समूहले विमानस्थलमा विभिन्न कामका लागि राखिएका कर्मचारीहरूसँग मिलेर सुन तस्करी गर्ने गरेको उल्लेख छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको गठित समितिको प्रतिवेदनमा दुबईमा रहेका अङ्कित अग्रवाल नामका व्यक्तिसँग मिलेर मीन घलेले नेपालमा सहयोगी परिचालन गरेर सुन तस्करी गरिरहेको उल्लेख गरेका छन्। तस्करीमा मिनसँगै चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेत जोडिएका छन्।

मीन घलेले डिवी भनिने दन बहादुर गुरुङलाई प्रयोग गरेर एयरपोर्टको सेटिङ मिलाएको प्रतिवेदनमा उल्लेख छ। विमानस्थलभित्र आइपुगेको सुनलाई बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक उड्डयन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेक बहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर सेर बहादुर बस्नेतले सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ।

दुबइका अंकितले नेपालबाट गएका भरियालाई सुन बोकाएर पठाउने, उनी विमानस्थलमा उत्रिएपछि शौचालय गएर सुन राख्ने र विमानस्थलमा खटिने कर्मचारीहरूले विभिन्न बहानामा सुन विमानस्थलबाट बाहिर निकाल्ने समितिको प्रतिवेदनमा देखिन्छ।

विमानस्थलको भन्सार छलेर बाहिरिएको सुन रमेश देउला, राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले लिएर काठमाडौँको बानियाटारमा रहेको डिवी गुरुङको घरमा पुर्याउने गरेको प्रतिवेदनमा उल्लेख छ। त्यही सुन मीनबहादुर घले र उनका साथी जोन भन्ने जीवन गुरुङले अङ्कित अग्रवालले भनेको स्थानमा लगिदिने गरेको प्रतिवेदनमा उल्लेख छ।

विमानस्थलको सुरक्षामा छिद्रैछिद्रै

समितिले सुन तस्करीको जालोसँगै विमानस्थलमा रहेको सुरक्षा चुकहरूबारे समेत प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनमा दुबई, सिंगापुर, हङ्कङ, थाइल्यान्ड लगायतका देशमा पटक-पटक आवागमन गरिरहने यात्रुको सूची राखेर विशेष निगरानी राख्न सुझाव दिएको छ।

समितिको छानबिनमा कर्मचारीहरूले कार, मोटरसाइकल, स्कुटर लगायतका व्यक्तिगत सवारीसाधन सेक्युरिटी चेक प्वाइन्ट भन्दा भित्र लगेर आफ्नो कार्यालय परिसरमा राख्ने गरेको,नेपाल आयल निगम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सिनामंगल चोकस्थित गेटमा वाक थ्रो मेटल डिटेक्टर तत्काल राख्नुपर्ने समितिको सुझाव छ।

समितिको प्रतिवेदन अनुसार आयल निगममा जाने कर्मचारीहरूको सवारी साधन पार्कीङ्ग गरे पश्चात् सुरक्षा जाँच गराई भित्र प्रवेश गर्ने र निस्कने क्रममा सुरक्षा जाँच गर्ने नदेखिएको भन्दै तत्काल सो प्रबन्ध गर्न भनेको छ।

समितिले अन्तर्राष्ट्रिय रन वे को १ नम्बर वेको छेउबाट आयल निगमको कार्यालय क्षेत्र हुँदै हिमालय एयरलाइन्सको कार्यालय तथा अन्य कार्यालयमा जाने सवारी साधनहरूको आवतजावत बन्द गर्न समेत सुझाव दिएको छ।

विमान निरीक्षण गर्न जाने इन्जिनियरको टिमले जहाजको नजिकै आफ्नो सवारी साधन लैजाने गरेको भन्दै समितिले उनीहरूलाई आफ्नो टुलबक्स लगायतका औजार मात्र विमानमा लैजान दिने र अनिवार्य सुरक्षा चेक गराउन सुझाव दिएको छ।

समितिले संयुक्त समन्वय कक्ष स्थापना गरेर तत्काल सूचना समन्वय गर्ने तथा आइपरेका समस्याहरूको कार्यक्षेत्र र जिम्मेवारी अनुसार निकायको तर्फबाट समाधानका लागि पहल गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पेसेन्जरको लिस्ट अनिवार्यरुपमा प्रहरी र भन्सारमा पठाउने व्यवस्था मिलाउन समेत सुझाव दिएको छ।

सुन तस्करीको अनुसन्धानमा तस्करीमा संलग्नहरूले विमानस्थलभित्र रहेको शौचालयको अपाङ्गमैत्री क्याबिनभित्र रहेको ढोकामा ताला समेत लगाएर दुरुपयोग गर्ने गरेको खुलेको थियो। समितिले त्यहाँ सुन ल्याएर गोप्य रूपमा लुकाउन मिल्ने संरचना रहेको भन्दै यस्ता छिद्रहरू तत्काल हटाउन सुझाव दिएको छ। समितिले सुरक्षा संवेदनशीलताका आधामा विमानस्थलमा रहेको ढोका तथा आपत्कालीन प्रवेशद्वार लगायतका स्थानमा क्लोज सर्किट टेलिभिजन तत्काल जडान गर्न सुझाव दिएको छ।

समितिले चमेना गृह, मुद्रा सटही काउन्टर, सिआइपी लाउन्ज लगायतका कर्मचारीहरूको विमानस्थल पास ड्युटी नभएको अवस्थामा निगरानी राख्न समेत सुझाव दिएको छ।

पुष ८, २०८० आइतबार १६:३८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।