बालेनसँग किन रिसाए प्रधानमन्त्री दाहाल?
 
                    
                    
                    
                    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्ना कुरा नसुनी कार्यक्रमस्थलबाट बाहिरिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आक्रोश पोखेका छन्।
ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई पहिले बोलेर हिँड्नेसँग पनि अलेलि इरिटेसन हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘आफूले भन्ने कुरा जे छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म।’
मेयर बालेनले फोहोर व्यवस्थापन लगायतका विषयमा संघीय सरकारका कारण समस्या उत्पन्न भएको आरोप लगाएका थिए।
‘उहाँले भन्नुभो, यहाँबाट निक्लने बित्तिकै हुन्छ। म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने– बालेन्द्रजी, तपाईँले चाहे त्यो वाग्मतीमा हस्तक्षेपको कुरालाई लिएर होस् या तिनकुनेको कुरालाई होस्। चाहे फोहोरमैला व्यवस्थापनका निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्नेबारेमा कतिपटक सिंहदरबारमा बैठक भयो ?,’ प्रधानमन्त्रीले प्रश्न गरे, ‘के अहिलेको प्रधानमन्त्री जत्तिको सकारात्मक, रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अरू कसैले कहीँ देख्नुभएको छ? तपाईँ त्यसलाई रिकोग्नाइज गर्न किन डराउनुहुन्छ? ’
आफूले मेयर बालेनका काममा समन्वय गरेको भए पनि उनले त्यस बारेमा नबोलेको भन्दै प्रधानमन्त्री आक्रोशित देखिए।
‘तपाईँ काठमाडौं पालिकाको मेयर हुनुको नाताले ललितपुर, भक्तपुरलाई समन्वय गर्ने तपाईंको बढी जिम्मेवारी छ। मैले तपाईँलाई सहयोग गर्छु भनेर लगातार गरेको कुरालाई रिकोग्नाइज गर्न केले रोक्यो?,’ प्रधानमन्त्रीको प्रश्न छ।
पुष २, २०८० सोमबार १३:१४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    