निषेधित क्षेत्र घोषणाको विरोधमा नागरिक आन्दोलनको विरोध मार्च

काठमाडौं : नागरिकले विरोधका आवाज उठाउने ठाउँहरूलाई सरकारले संकुचित गर्दै लैजानु लोकतन्त्रमाथि खतराको सङ्केत भन्दै बृहत् नागरिक आन्दोलनले शुक्रबार विरोध मार्च गर्ने भएको छ।
सरकारले खुलामञ्च, माइतीघर र शान्तिवाटिका लगायत नागरिकका आवाज मुखरित गर्ने ठाउँहरूमा निषेधित क्षेत्र घोषणा गरेकोमा नागरिक अगुवाहरूले त्यसको विरोध गर्दै आएका छन्।
बृहत् नागरिक आन्दोलनले शुक्रबार त्यसको विरोधमा शान्तिवाटिकामा विरोध मार्च गर्न लागेको हो।
नागरिक अगुवा सञ्जीव उप्रेतीले लोकतन्त्रमा नागरिकले विरोध गर्न पाउने अधिकारमाथि सरकारले आक्रमण गर्न थालेको बताए।
‘माइतीघर, शान्तिवाटिका र खुलामञ्च अहिले नागरिकका आवाज मुखरित गर्ने ठाउँहरू हुन्, ती ठाउँहरूमा प्रतिबन्ध लगाउनु शुभसंकेत होइन,’ उनले भने, ‘यो नागरिकको संवैधानिक लोकतान्त्रिक अधिकार नै हो।’
सरकारले लामो समयसम्म माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेर आफूप्रति लक्षित विरोधका आवाजहरू दबाउन खोजेको भन्दै नागरिक आन्दोलनले निरङ्कुश राज्यको झल्को गराएको जनाएको छ।
‘दिन प्रतिदिन भ्रष्टाचार बढ्दै गइरहेको छ। सामाजिक न्याय सङ्कटमा छ। सरकारप्रति बढेका असन्तुष्टि अभिव्यक्त हुन नदिन नागरिकले प्रयोग गर्दै आएको विरोध स्थललाई निषेधित क्षेत्र घोषणा गर्ने कदमको विरोध गर्न आव्हान गरिन्छ’, नागरिक आन्दोलनले भनेको छ।
मंसिर २९, २०८० शुक्रबार ०९:३८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।