राष्ट्रियसभा र प्रतिनिधिसभाबीच मैत्रीपूर्ण फुटसल, प्रतिनिधिसभा ४ गोलले विजयी

काठमाडौं : १७ औं संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ।
प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० गोलअन्तरले पराजित गरेको हो।
भृकुटीमण्डपस्थित फुटसल कोर्टमा भएको उक्त प्रतियोगितामा प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका सांसद माधव सापकोटाले दुई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ र नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले एक/एक गोल गरेका थिए।
पहिलो र दोस्रो गोल सांसद सापकोटाले, तेस्रो गोल सांसद श्रेष्ठले तथा चौथो गोल सांसद शर्माले गरे।
प्रतिनिधिसभाको टोलीको नेतृत्व सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा टोलीको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए।
प्रतिनिधिसभाको टोलीमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, सांसदहरु सापकोटा, श्रेष्ठ, शर्मा, मनिष झा, प्रदीप यादव र तारामान लामा थिए।
राष्ट्रियसभाको टोलीमा अध्यक्ष तिमिल्सिना, रमेशजङ्ग रायमाझी, गोपी अछामी, मायाप्रसाद शर्मा, डा खिमलाल देवकोटा, भैरवसुन्दर श्रेष्ठलगायत सहभागी थिए।
मंसिर २६, २०८० मंगलबार १५:४७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।