
कोशी प्रदेशको उच्च पहाडी भेगमा हिमपात सुरू

विराटनगर : मौसममा बदली आएसँगै कोशी प्रदेशको उच्च पहाडी भेगमा हिमपात सुरू भएको छ।
ताप्लेजुङको पाथीभरा र आसपास क्षेत्र, इलामको सन्दकपुर लगायत क्षेत्रमा हिमपात भएको स्थानीयले जनाएका छन्।
स्थानीय लाक्पा शेर्पाका अनुसार इलामको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायत क्षेत्रमा हिमपात भएको छ।
हिमपातपछि चिसो निकै बढेको उनको भनाइ छ। गत बिहीबार दिउँसोदेखि नै ती क्षेत्रमा हिमपात हुन थालेको हो।
३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको सन्दकपुर क्षेत्र कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल मध्येको एक हो।
वर्षा र हिमपातपछि बालीनाली सप्रने भन्दै स्थानीय किसान खुसी भएका छन्।
उता, ताप्लेजुङको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा पनि वर्षा र हिमपात भएको छ।
हिमपात भएपछि तीर्थयात्रुहरू प्रभावित बनेको स्थानीय जीवन खतिवडाले बताए।
मौसम परिवर्तन भइरहेकाले तराई क्षेत्रमा हुस्सु लाग्न थालेको छ। दुई दिनयता बेला–बेला वर्षा हुने र धुम्म हुने गरेकाले तराईका जिल्लामा पनि चिसो बढेको छ।
मंसिर २३, २०८० शनिबार १४:१०:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।